नेपालसँगको छलफलपछि नेम्वाङले भने- ‘उहाँले नै राजीनामाबारे थाहा भएजस्तो गर्नुभएन’

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ ।

प्रधानमन्त्री ओलीले आईतवार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ्गलाई वरिष्ठ नेता माधव कुमार नेपालसंग छलफल गर्न पठाएका थिए । पौडेल, नेम्वाङ्ग र नेपालबीच सिंहदरबारमा छलफल भएपनि राजनीतिक विवादको समाधान निस्कन सकेन । बैठकमा पार्टी एकतालाई बलियो बनाएर लैजाने पुरानै कुरा दुवै पक्षबाट राखियो तर समाधान केही निकालिएन । बैठकपछि संञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै उपनेता नेम्वाङ्गले पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्न भन्ने कुरा भएको तर देखिएका समस्यालाई टुंगोमा पुर्याउनका लागि ठोस आधारहरुका बारेमा फेरी छलफल गर्ने सहमति भएको बताए ।

आफुहरुलाई प्रधानमन्त्रीले नेता नेपालसँग छलफलका लागि पठाएको र प्रधानमन्त्रीको सन्देश राख्ने काम गरेको तथा नेता नेपालबाट आएका कुरालाई पनि प्रधानमन्त्री समक्ष पुर्याउने उनले बताए ।

उनले भने “प्रधानमन्त्री र माधव कुमार नेपाल बीच कुराकानी भएर, फोन सम्पर्क भएर तय भएको भेटघाट तय भएको हो । प्रधानमन्त्री जीले मलाई र विष्णु पौडेललाई माधव कमरेडसँग कुरा गर्न पठाउनुभएको हो । हामीले गम्भीरतापुर्वक अहिलेको पार्टीको समस्या र एकता सम्बन्धमा गम्भीर छलफल गर्यौ । धेरै खुलस्त कुरा गरियो । पार्टी अध्यक्ष ज्यूको चिन्ता र सरोकारको कुराहरु उहाँ समक्ष राख्यौ । सम्पुर्ण पार्टी पंक्तिको चिन्ता र सरोकारका कुराहरु राख्यौ । उहाँले नि आफ्नो कुराहरु खुलस्त ढंगले हामीलाई सुनाउनुभयो । हामी ती कुराहरु पार्टी अध्यक्ष समक्ष पुराउँछौ । एउटा कुरा एकदमै सकारात्मक छ । त्यो भनेको पार्टी एकतालाई बलियो बनाएर लैजानु्पर्छ भन्ने कुरामा विवाद छैन । तर यसलाई देखिएका समस्याहरुलाई कसरी टुंगोमा पुर्याउने भन्ने हामी सबैको चिन्ता हो र कुराकानीमा पनि त्यो चिन्ता अभिव्यक्त भएको हामीले पायौं । यही सन्र्दभमा छलफल गरेर यसलाई भर्रसक चाँडो टुंगोमा पुराउने । यसलाई टुंगोमा पुर्याउनका लागि ठोस रुपमा के आधारहरु हुनसक्छ त्यसबारेमा सल्लाह गर्ने र फेरि पनि भेटघाट गरेर पार्टीलाई एकतावद्ध बनाउने भन्ने बारेमा हामीबीच कुराकानी भएको छ । फेरि भनेको तुरुन्तै आजै बेलुकी वा भोली बिहान पनि बस्न सकिन्छ । जहाँसम्म राजीनामाको कुरा छ, त्यो चर्चा हो । त्यस्तो हामीलाई लाग्दैन र हामीले यो प्रसंग पनि उठाएका थियौ उहाँले पनि थाहा पाएको जस्तो गर्नुभएन । त्यसैले यो सबै चर्चाको कुरा हो ।”

सोमवार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले आईतवार पार्टी भित्रकै असन्तुष्ट समुह नेपाल–खनाल पक्षसंग छलफल गर्न महासचिव पौडेल र उपनेता नेम्वाङ्गलाई पठाएका थिए ।

यसैबीच अहिले नेता नेपालले आफ्ना पक्षका सांसदहरुसंग सिंहदरबारमा दुईपक्षीय, त्रिपक्षीय छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?