एनएसएल : काठमाडौं समूह चरण विजेता, चितवन बिना कुनै जित प्रतियोगिता बाहिर

काठमाडौं ।  पहिलो संस्करणको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को समूह चरणको खेल आज (आइतवार) सकिएको छ।

दशरथ रंगशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा काठमाडौं रेजर्स एफसीले एफसी चितवनलाई २-१ गोलले पराजित गरेको छ। यसका साथै काठमाडौं अकं तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ।

पहिलो हाफको १७औं मिनेटमा काठमाडौंका लागि विदेशी खेलाडी मेसाउके ओलोमोऊले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३४औं मिनेटमा सञ्जोक राईले गोल गर्दै काठमाडौंको अग्रता दोब्बर बनाएका थिए।

पहिलो हाफको ३९औं मिनेटमा राजीव लोप्चनले गोल गर्दा चितवनले खेलमा फर्किने संकेत देखाएको थियो तर दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा जित काठमाडौंको पक्षमा गएको हो।

यस जितसँगै काठमाडौं समूह चरणको विजेता बन्दै प्लेअफ प्रवेश गर्ने भएको छ। उता चितवनले भने आफ्नो ६ खेलमा कुनै जित निकाल्न सकेन। बिना कुनै जित चितवनले २ अंकका साथ प्रतियोगिता अन्त्य गरेको छ।

खेलमा काठमाडौंका विश्वास उदास ‘इमर्जिङ प्लेयर’ घोषित भए भने काठमाडौंका तेज तामाङले ‘म्यान अफ दि म्याच’को उपाधि जिते।

काठमाडौंले अब प्लेअफमा धनगढीको सामना गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?