ला-लिगा : घरेलु मैदानमा हारबाट जोगियो रियल, शीर्ष स्थान उक्लिने मौका खेर

काठमाडौं ।  स्पेनिश ला-लिगा अन्तर्गत गए राति भएको खेलमा रियल मड्रिड र सेभियाले २-२ गोलको बराबरी खेल खेलेका छन्। रियलको अस्थायी घरेलु मैदान ‘एलफ्रेडो डि स्टेफानो’मा खेलिएको खेलमा रियलले अन्तिम मिनेटमा हार टालेको थियो।

खेलको १२ औं मिनेटमा घरेलु टोलीका स्ट्राइकर करिम बेन्जीमाको गोल ‘भीएआर’ले खारेज गरिदिएको थियो। त्यसपछि २२औं मिनेटमा ब्राजिलियन खेलाडी फर्नान्डोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।

दोस्रो हाफको ६७ औं मिनेटमा रियलले बराबरी गर्यो। टोनी क्रुजको पासमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई खेलमा फर्काए।

तर ७८औं मिनेटमा सेभियाका लागि इभान राकिटिचले गोल गर्दै पाहुना टोलीको अग्रता पुनः कायम गरे। पूर्व बार्सा खेलाडी राकिटिचले पेनाल्टीमार्फत गोल गर्दै सेभियाको अग्रता फिर्ता गरे।

रियलले हार भने पञ्छ्यायो। निर्धारित ९० मिनेटको खेल पछिको इन्जुरी समयमा टोनी क्रुजले प्रहार गरेको शट एडेन हाजार्डलाई लाग्दै जाली चुमेपछि खेल बराबरीमा सकिएको हो।

यस बराबरीसँगै उपाधि रेसले फेरि अर्कै मोड लिएको छ। एथ्लेटिकोसँग अंक बराबरी गर्दै शीर्ष स्थान पुग्ने मौका रियलले गुमाएको छ। रियल ३५ खेलमा ७५ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ। त्यस्तै अन्तिम समयमा जितबाट वञ्चित भएको सेभियाको टोली ३५ खेलमा ७१ अंक सहित चौथौं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?