सिरी-ए : युभेन्टस घरेलु मैदानमै पराजित, एसी मिलान तेस्रो स्थानमा उक्लियो

काठमाडौं ।  इटालियन सिरी-ए अन्तर्गत गए राति भएको खेलमा एसी मिलानले युभेन्टसलाई ३-० को गोल अन्तरले पराजित गरेको छ। युभेको घरेलु मैदान ‘एलियान्ज एरिना’मा खेलिएको खेलमा एसी मिलानले घरेलु टोलीमाथि सहज जित दर्ता गरेको हो।

पहिलो हाफको इन्जुरी समयमा ब्रहिम डियाजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५८औं मिनेटमा एसी मिलानलाई पेनाल्टी प्रदान गरियो। फ्रान्क केस्सीले सो पेनाल्टी गोलमा परिणत गर्न सकेनन्।

यूभेलाई खेलमा फर्किने यो सुनौलो मौका थियो। तर खेलमा एसी मिलानले दोस्रो गोल गर्न पुग्यो। खेलको ७८औं मिनेटमा स्ट्राइकर आन्टे रेबीचले सहज तर सुन्दर गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए।

त्यस्तै ८२ औं मिनेटमा डिफेन्डर फिकायो तोमोरीले मिलानको अग्रता तेब्बर बनाए। चेल्सीबाट लोनमा आएका तोमोरीले उत्कृष्ट हेडर गर्दै मिलानको जित सुनिश्चित गरे।

रोनाल्डो लगायत सबै युभेका खेलाडीलाई खेलमा फर्किने मिलानले कुनै मौका दिएन।

यसका साथै मिलान ३५ खेलमा ७२ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। उता युभेन्टस भने ३५ खेलमा ६९ अंकका साथ पाँचौं स्थानमै रहेको छ। लिगमा ३ खेल खेल्न बाँकि रहेको अवस्थामा युभेको च्याम्पियन्स लिग यात्रा कठिन देखिएको छ।

उपाधि चुमिसकेको इन्टरको पछाडि क्रमश: एटलान्टा, मिलान र नेपोली रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?