लिग-१ : पीएसजीको रेनेसँग बराबरी, उपाधि यात्रामा ठूलो धक्का

काठमाडौं ।  फ्रेंच लिग-१ मा गए राति भएको खेलमा साविक विजेता पीएसजी रेनेसँग बराबरीमा रोकिएको छ। रेनेको घरेलु मैदानमा खेलिएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। नेयमारले पेनाल्टीमार्फत पाहुना टोलीलाई अग्रता दिलाउन सफल भएका थिए।

दोस्रो हाफको ७० औं मिनेटमा रेने खेलमा फर्कियो। घरेलु टोलीका लागि स्ट्राइकर सेहरु गुइरासीले उत्कृष्ट हेडर गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्याए।

त्यसपछि ८७ औं मिनेटमा पीएसजीका डिफेन्डर प्रिन्सेल किम्पेम्बेले सिधै रातो कार्ड खाएर मैदान छोड्नु पर्यो। रेनेका डोकुमाथि नराम्रो फल गर्न पुगेका किम्पेम्बेले मैदान छोड्दा खेलको केही अन्तिम मिनेट पीएसजीले १० खेलाडीमा खेल्नु परेको थियो।

यो बराबरीका साथ ३६ खेलमा पीएसजी ७६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। उता ३६ खेलमा ७९ अंक बटुलेर लिल लिगको शीर्ष स्थानमा कायमै छ। लिगमा केवल २ खेल खेल्न बाँकि रहँदा उपाधि रेस निकै रोमाञ्चक मोडमा पुगेको छ। साविक विजेता पीएसजीलाई लिलको ठूलो चुनौती छ। लिलले अन्तिम पटक उपाधि सन् २०११ मा जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?