काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गरेका छन्।
ओलीले ट्वीटरमार्फत नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टी केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका हुन् ।
ओलीले भनेका छन्,नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।’
उनले लेखेका छन्, यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’
उता नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको छलफल गरिरहेका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न मागसहित दिएको अल्टिमेटमको समय सकिएपनि कुनै संकेत नआएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न सांसदहरु छलफलमा जुटेका हुन् ।
आइतवार साँझ प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई आज बिहान ९ बजेसम्म विभिन्न मागहरुसति अल्टिमेटम दिएका थिए । आइतवारको अल्टिमेटम अनुसार आज नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने समेत बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया