काठमाडौं । इंग्लिश प्रिमियर लिगको यस सिजनबाट रेलिगेट हुने तेस्रो र अन्तिम टोली बनेको छ फुल्ह्याम। बर्नलीसँग घरेलु मैदानमा २-० को हारसँगै फुलह्यामको रेलिगेसन पक्का भएको हो।
स्कट पार्करको प्रशिक्षणमा रहेको फुल्ह्याम सोमवार राति भएको खेलको पहिलो हाफमा नै २ गोलले पछि परेको अवस्था थियो।
बर्नलीका लागि एशली वेस्टवुड र क्रिस वुडले क्रमशः ३५ र ४४ औं मिनेटमा गोल गर्दा फुल्ह्यामको नाऊ डुब्ने स्थितिमा पुगिसकेको थियो।
गत सिजन मात्र च्याम्पियनशिपबाट बढुवा पाएर प्रिमियर लिग फुटबल खेल्न आएको फुल्ह्यामले मात्र १ सिजन प्रिमियर लिगमा बिताउन सफल भयो।
‘द कटेजर्स’ भनेर प्रख्यात फुल्ह्यामको टोलीले पछिल्ला ७ खेलमा मात्र १ अंक जोड्न सकेको अवस्था थियो। गत मार्चमा लिभरपुललाई १-० गोलले पराजित गर्दा फूल्ह्यामको प्रिमियर लिग बसाई लामो हुने अनुमान गरिएको थियो, तर त्यस्तो हुन सकेन।
लन्डन अवस्थित क्लब, फुलह्यामको भाग्य ३ खेल अगावै तय भएको छ। फुल्ह्याम साउथह्याम्पटन र ब्राइटनभन्दा १० अंक पछाडि छ।
उता बर्नलीले भने आफ्नो प्रिमियर लिग फुटबल अर्को सिजनको लागि पुनः पक्का गरेको छ। १७ स्थानमा रहेको बर्नलीले फुल्ह्याम विरुद्धको जितसंगै अंक तालिकामा पनि प्रगति गरेको अवस्था छ।
आफ्ना प्रशिक्षक सन् डाईचको ३५० औं खेलको प्रशिक्षणमा बर्नलीले महत्वपूर्ण ३ अंक बटुल्दै १४ औं स्थानमा उक्लिन सफल भएको हो।
फुल्ह्यामसँगै शेफिल्ड युनाइटेड र वेस्ट ब्रम पनि इंग्लिश प्रिमियर लिगबाट रेलिगेट भइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया