काठमाडौं । इग्लिंश प्रिमियर लिग अन्तर्गत मगंलवारको खेलमा म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी प्रतिस्पर्धा गर्दै छन्। युनाइटेडको घरेलु मैदान ‘ओल्ड ट्राफोर्ड’मा नेपाली समय अनुसार राति १०:४५ बजे शुरु हुने सो खेलमा जित निकाल्दै युनाइटेडको टोलीले आफ्नो सबैभन्दा ठूलो प्रतिद्धन्दि म्यानचेस्टर सिटीको उपाधि होड लम्बाउने प्रयत्न राखेको छ।
पछिल्लो खेलमा युनाइटेडले एस्टन भिल्लामाथि ३-१ गोलको ‘कमब्याक’ जित हासिल गरेको थियो। उता लेस्टर भने न्युक्यासल युनाइटेडसँग घरेलु मैदानमै ४-२ गोल अन्तरले पराजित भएको थियो।
म्यानचेस्टर युनाइटेडले यस सिजनमा धेरै खेलमा कमब्याक जित हासिल गरेको छ। भिल्लाका लागि ट्राओरेले उत्कृष्ट गोल गरेका थिए, जुन गोलले सिटीलाई उपाधि सुम्पिन पनि सक्थ्यो तर युनाइटेडले सुन्दर कमब्याकको साथ सो म्याचमा जित दर्ता गरेको थियो।
लेस्टर विरुद्ध युनाइटेड सोही किसिमको नतिजा निकाल्ने दाउमा हुनेछ। तर आजको खेलमा युनाइटेड आफ्नो कप्तान तथा प्रमुख डिफेन्डर ह्यारी मग्वायर बिना नै मैदानमा उत्रने छ। भिल्ला विरुद्धको खेलमा चोट बोकेका मग्वायर पुरै ठीक भैसकेका छैनन्। अझै, न्युक्यासल विरुद्धको हारले लेस्टरलाई घाइते बनाएको अवस्था छ। तर घाइते बाघ कमजोर भने पक्कै छैन।
न्युक्यासल विरुद्ध पराजय भोगेको लेस्टरलाई ‘टप ४’ को रेसमा धक्का भने ठूलै लागेको छ। एक समयमा तेस्रो स्थानमा बलियो देखिएको लेस्टर अहिले भने ३५ खेलमा ६३ अंक सहित चौथौं स्थानमा पनि सुरक्षित छैन।
युनाइटेड अहिले ३४ खेलमा ७० अंक सहित सिटी भन्दा १० अंक पछाडि रहेको अवस्था छ। युनाइटेडले यस सप्ताह ३ खेल खेल्दै छ। जसमा उसले भिल्लामाथि जित सहित शुरुवात राम्रो पक्डेको छ। लेस्टरसँग आज पराजय नभोगेको खण्डमा सिटीको उपाधि होड त लम्बिने छ, तर अर्को ४८ घण्टामा लिभरपुलले युनाइटेडको यात्रा गर्दै छ। युनाइटेडले ‘टप ४’ स्थान पक्का गरिसके पनि यी खेलहरुमा हार बेहोर्न पक्कै चाहँदैन।
लेस्टरसँग पछिल्ला ७ खेलमा युनाइटेडले ६ मा जित निकालेको अवस्था छ। तर गत मार्चमा सम्पन्न एफए कपको अन्तिम आठको खेलमा भने लेस्टरले युनाइटेडमाथि ३-१ को जित निकालेको थियो।
लेस्टरको ‘अवे फर्म’ लाजवाब रहेको छ। घरेलु मैदान भन्दा बाहिर खेलिएका १२ खेलमध्ये लेस्टरले केवल १ मा हार बेहोरेको छ। गत डिसेम्बरको ‘बक्सिङ-डे’ को भिडन्तमा यी दुई टोलीले ‘किंग पावर स्टेडियम’मा २-२ गोलको बराबरी खेल खेलेका थिए।
के आज म्यानचेष्टर सिटीको उपाधि होड अझै लम्बिन्छ? या लेस्टरले सात वर्षमा पहिलो पटक ‘ओल्ड ट्राफोर्ड’मा जित निकाल्छ? खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया