काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले तत्काल अक्सिजन आपूर्तिलाई छिटो सहज बनाउन सरकारसँग आग्रह गरेका छन् ।
नेपालमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेको अवस्थामा अक्सिजनको अभावले ठूलो क्षति हुने बताउँदै सांसद थापाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आज एक भिडियो सार्वजनिक गर्दै गगन थापाले भने- “म मेरो सम्मानीय प्रधानमन्त्री ज्यूलाई विनम्र आग्रह गर्दछु । भोलि के होला मलाई थाहा छैन । त्यस विषयमा सरोकार पनि छैन । यो बेलामा आज तपाई प्रधानमन्त्री हुनुहुन्छ । तपाइले चाहानु भयो भने यो कुरा अहिले पनि हल गर्न सक्नुहुन्छ । स्वास्थ्य मन्त्रालयले चाहेर यो कुरा गर्न सक्दैन । सीसीएमसीले निर्देशन दिएर यो कुरा गर्न सक्दैन । यो बेलामा तपाईको तहबाट प्रयास भयो, हस्तक्षेप भयो भने अक्सिजनको समस्याको जहाँ गाठो परेको छ, त्यो गाठो फुकाउन सकिन्छ । त्यसैले यो बेलामा सबै कुरा छाडेर, यो त्यो केही पनि नभनिकन हाम्रो आफ्नो नागरिक जसको हामी ज्यान बचाउन सक्छौँ त्यसका निम्ति म मेरो प्रधानमन्त्रीलाई एकपटक सबै कुरा छाडेर यो अक्सिजनको समस्या आज हल गर्दिनका निम्ति लाग्दिन म आग्रह गर्न चाहान्छु । आज दिनभरीमा यो समस्याको हल हामीले गर्न सकिएन भने ठुलो दुर्घटना हुन सक्दछ । एकपटक फेरि दुई हात जोडेर बिन्ति गर्न चाहान्छु एकछिनको लागि यो विषयमा तपाईको ध्यान पुर्याइदिनुहोला धन्यवाद ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया