काठमाडौं । इंग्लिश प्रिमियर लिग २०२०/२१ सिजनको विजेता म्यानचेष्टर सिटी भएको छ। गए राति म्यानचेष्टर युनाइटेड लेस्टर सिटीसँग २-१ गोलले पराजित हुँदा म्यानचेष्टर सिटीले स्वतह उपाधि जितेको हो।
घरेलु मैदान ‘ओल्ड ट्राफोर्ड’मा म्यानचेष्टर युनाइटेड लेस्टरसँग पराजित हुन पुग्यो। १ सातामा ३ खेल खेलिरहेको युनाइटेडले लेस्टर विरुद्ध आफ्ना धेरै खेलाडीलाई आराम दिएको थियो।
पहिलो हाफको १०औं मिनेटमा नै लेस्टरले खेलमा अग्रता लियो। ‘फुलब्याक’ लुक थोमसले गोल गर्दा पाहुना टोलीले अग्रता लिएको थियो। तर १५ औं मिनेटमा मेसन ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए।
६६ औं मिनेटमा लेस्टरका डिफेन्डर सोयुञ्चुले गरेको गोल नै निर्णायक बन्न पुग्यो र ‘ओल्ड ट्राफोर्ड’मा सन् २०१४ देखिको पहिलो जित निकाल्न सफल भयो लेस्टर।
३५ खेलमा ७० अंक बोकेको युनाइटेडले यस हारसँगै उपाधि आफ्नो छिमेकी तथा सबैभन्दा ठूलो प्रतिद्वन्दी म्यानचेष्टर सिटीलाई सुम्पियो। ३५ खेलमा ८० अंकसहित शीर्ष स्थान ओगटेको सिटी स्वतह विजयी बन्न पुग्यो।
सिटीको यो चार वर्षको अन्तरालमा तेस्रो प्रिमियर लिग उपाधि हो। सिटीले पेप ग्वार्डियोलाको प्रशिक्षणमा सन् २०१७/१८, २०१८/१९ र अहिले २०२०/२१ को सिजनमा उपाधि दर्ता गरेको छ।
यससँगै लिभरपुलको प्रिमियर लिग विजेता कहलिने दिन सकिएको छ। लिभरपुलले सन् २०१९/२० को सिजन जितेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया