चन्द्रागिरि नगरपालिकामा जेठ १ गतेदेखि एकहप्ता सिल गरिने

काठमाडौं । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण गर्नका लागि चन्द्रागिरी नगरपालिकालाई जेठ १ गतेदेखि जेठ ७ गतेसम्म सिल गरिने भएको छ ।

बुधबार नगर प्रमुख घनश्याम गिरीले जरुरी सूचना जारी गर्दै बैशाख २९ गते नगरपालिका भित्रका सबै सरोकारवालाहरु सहित बसेको बैठकले नगरपालिका भित्र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि जेठ १ गतेदेखि ७ गतेसम्म एकहप्ता नगरपालिकालाई सिल गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

जेठ १ गते बिहान ६ बजेदेखि जेठ ७ गते बिहान ५ बजेसम्मका लागि घर बाहिर हिंडडुल गर्न पुर्णरुपमा रोक लगाउने निर्णय गरिएको छ । साथै औषधि पसल र स्वास्थ्य संस्थाका आवश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिकाका वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी, गैर सरकारी, बैंक तथा वित्तीय संस्थाहरु, नीजि सम्पूर्ण कार्यालयका सेवाहरु पूर्ण रुपमा बन्द गरिने पनि जनाईएको छ ।

खानेपानी ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्ड लगायतको पालना गरी सञ्चालन गर्न भने दिईने सूचनामा उल्लेख गरिएको छ । जेठ २ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरु गरिन लागेकोमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यमा भने पहिलो पटक खोप लगाएको खोप कार्ड भएको व्यक्ति खोप लगाउन खोप केन्द्रसम्म आवत् जावत् गर्न सकिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?