काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिमा जण्डिसको बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्तिहरु देखा परेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण पछि बसेको मन्त्रीपरिषद्को बैठकलाई सम्बोधन गर्दे उनले विरोधीहरुले सरकारका उचित प्रयासहरुलाई भ्रमपुर्ण ढंगले प्रचार गरी जनतामा अन्यौल श्रृजना गर्ने काम भएको बताएका हुन् । उनले कोभिड १९ संक्रमणको भयावह अवस्थामा त्यसविरुद्धको लडाईमा एकजुट हुनुपर्नेमा सरकारका प्रयासहरुलाई ओझेल पार्ने र जनतामा निरासा पैदा गर्ने काम भएको दाबी गरे । उनले जण्डिसको बिरामीले जता पनि पहेँलो देखे जस्तै सबै ति भ्रष्टाचार देख्ने र काम गर्ने संस्था र व्यक्तिलाई हतोत्साही गर्ने काम भएको बताए ।
उनले भने, “कोभिड १९ का विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा विभिन्न प्रकारले अस्वस्थ्य,अनुचित र तनाबग्रत वातावरण बनाउने र जनतामा अन्यौल श्रृजना गर्ने, निरासा पैदा गर्ने,सरकारका प्रयासहरुलाई ओझेलमा पार्न खोज्ने,प्रयासहरुलाई असफल पार्न खोज्ने , उचित प्रयासहरुलाई भ्रमपुर्ण ढंगले प्रचार गर्ने र जण्डिसको विरामीले जस्तो जता पनि पहेलो देख्ने, जता पनि भ्रष्टाचार देख्ने र काम गर्ने संस्था र व्यक्तिलाई पनि काम गर्न हतोत्साहीत गर्ने प्रवृत्तिहरु भईरहेका छन् । ”
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले आफुले सरकार बनाउन नसकेपछि देशमा प्रतिमन भएको देख्ने गरेको टिप्पणी गरे । त्यसकिसिमका आलोचनालाई उनले मुलुकमा अस्थिरता चाहनेहरुको कुतर्क को संज्ञा दिए ।
उनले भने “यतिबेला पनि केही अस्थिरता चाहने र मुलुकमा शान्ति देख्न नचाहने तत्वहरुले लोकतान्त्रिक मुल्य मान्यता अनुसार संविधानन र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थमा केन्द्रीत कुतर्क गर्छन् । अहिले पनि देशमा प्रतिगमन भएको देख्छन् । आफुले सरकार बनाउन नसक्नु प्रतिगमन । अर्कोले सरकार बनाउनु प्रतिगमन । यस्तो तथाकथित नक्कली क्रान्तिकारी चश्माबाट सधै हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन् । मुलुकमा प्रतिगमन भएको छ र प्रतिगमनका विरुद्ध लड्न सबै एकजुट भएर लागौ भनेर शान्ति कायम हुन नदिने स्थिरता हुन नदिने र अस्थिरता र अशान्तिको एउटा भुमण्डल खडा गर्न खोज्ने प्रयासहरु भएका छन् ।”
आफ्नो स्वार्थका निम्ति यस विकराल अवस्थामा सरकारालई सेक्न खोज्ने प्रवृत्ति उचित नभएको भन्दै उनले देश संघीय लोकतान्त्रिक गणतन्त्र अनुसार, संविधान र कानुनका स्पष्ट व्यवस्था र मर्यादा अनुसार कोभिड १९का विरुद्ध संघर्षमा जुटेको स्पष्ट पारे । सरकारको गम्भीरतालाई छिमेकी र मित्रराष्टहरुले हेरिरहेको भन्दै उनले यस्तो अवस्थामा पनि देश र जनताप्रति चिन्तित नभएर स्वार्थ केन्द्रीत हुनु उचित नहुने टिप्पणी गरे ।
उनले कोभिड १९ संक्रमतिको उपचारमा सरकारले कुनै कमि हुन नदिने प्रतिवद्धता जनाए । कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचारमा सरकारले प्रभावकारी कदम चाल्ने र आवश्यक पर्ने स्वास्थ्य सामाग्रीका साथै अग्रपक्तिमा रहेर उपचार सेवा गर्नेहरुलाई प्रभावकारी ढंगले प्रोत्साहन सुविधा उपलब्ध गराउने आश्वासन दिए । साथै सबै नागरिकलाई यथाशिघ्र कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था सरकारले मिलाउने पनि उनले उल्लेख गरे ।
निषेधाज्ञाको समयमा उद्योग व्यवसाय र रोजगारीमा परेको प्रभावलाई सम्बोधन गर्न र त्यसको प्रतिकूल असर नपरोस् भन्ने तर्फ सरकार सजग रहेको पनि उनले बताए ।
उनले यी सबै कामका लागि आवश्यक सम्पुर्ण स्रोत र साधन परिचालन गर्ने कुरामा कुनै कमि आउन नदिने प्रतिवद्धता जनाए । उनले नीजि क्षेत्रका अस्पतालहरुलाई सेवाको भावना राखेर विरामीको उपचारमा लाग्न तथा कोभिड नियन्त्रण तथा रोकथामका सरकारलाई सहयोग गर्न पनि आग्रह गरे । उनले कोभिड नियन्त्रणका लागि खरिद गरिएका कुनै पनि सामानमा भ्रष्टाचार वा अनुचित लाभ लिन खोज्ने काम भए उनीहरुमाथि कडाईका साथ कारवाही गर्ने प्रतिवद्धता जनाए ।
प्रधानमन्त्रीले अक्सिजन उत्पादन पुर्ण क्षमतामा गर्न र ढुवानी तथा वितरणलाई व्यवस्थित बनाउन सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिए । उनले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गरे ।
उनले आफुले देश र जनताप्रति बफादार भएर काम गर्ने, सपथका शब्दहरुको कार्यान्वयनका निम्ति सक्रिय प्रयास अगाडि बढाउने प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले त्यसका लागि कर्मचारीबाट पनि प्रभावकारीता र संक्रियताका साथ काम हुने विश्वास आफुले लिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया