आर्जव घिमिरे/काठमाडौं । लगभग दुई वर्ष अघिमात्र कुल्दिप यादव एकदिवसीय क्रिकेटमा ‘दुई’ वटा ह्याट्रिक लिने पहिलो भारतीय खेलाडी बनेका थिए।
सन् २०१८ मा उनी टी-ट्वेन्टी आईको एकै खेलमा ५ विकेट लिने पहिलो स्पिनर पनि बनेका थिए। सन् २०१९ विश्वकप क्रिकेटमा भारतको प्रतिनिधित्व समेत गरिसकेका कुल्दिपले सन् २०१९ मा अस्ट्रेलियाविरुद्धको टेस्ट खेलमा ५ विकेट झट्काएका थिए। त्यो पनि अस्ट्रेलियायी भूमिमा, आफ्नो पहिलो खेलमै।
त्यस बेला भारतका प्रशिक्षक रवि शास्त्रीले ‘लेफ्ट आर्म रिस्ट स्पिनर’ कुल्दिपको प्रशंसा गर्दै यस्तो भनाई राखेका थिए, “टेस्ट खेलाडीमा हुनु पर्ने सबै गुण कुल्दिपमा छन् र उनी भारतीय क्रिकेटमा लामो समय बस्नेछन्।”
तर दुई वर्ष यता, उनी ‘वर्ल्ड टेस्ट च्याम्पियनशिप’को फाइनल खेल्न गइरहेको भारतीय टोलीमा सम्मिलित समेत छैनन्। त्यस्तै भारतले खेलेको पछिल्ला १४ टेस्टमा उनले केवल १ खेल खेलेका छन्। गत फेब्रुअरीमा इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट खेल्ने मौका पाएका कुल्दिपले मात्र ६ ओभर बलिङ गरे। उता आश्विन र अक्सर जस्ता स्पिनर चेम्केको खेलमा कुल्दिपले एक विकेट पनि लिन सकेनन्।
ठाडो ओरालो लागेको कुल्दिपको करियर कुनै नाटक भन्दा कम छैन। उनको अन्तिम एकदिवसीय विकेट सन् २०२० डिसेम्बरमा आएको थियो। अस्ट्रेलियाविरुद्ध ३ खेलको शृङ्खलामा १ खेल खेलेका कुल्दिपले मात्र १ विकेट लिन सफल भएका थिए।
सन् २०१७ मा पाकिस्तानसँग ‘च्याम्पियन्स ट्रफी’ हारेको भारतले जडेजा र आश्विनको स्थानमा कुल्दिप र युजभेन्द्र चहललाई स्पिन बलिङको जिम्मेवारी दिएको थियो। यी दुईले उक्त जिम्मेवारी पूर्ण रूपले निभाएका पनि थिए।
यी दुईको बलिङ ‘टेक्निक’को अगाडी विश्वका उत्कृष्ट ब्याट्सम्यानहरुले पनि मात खाए। मानौं भारतले स्पिन बलिङमा आफ्नो ‘मोजो’ फिर्ता पायो। चहललाई भारतले सीमित ओभर क्रिकेटमा भरोसा गर्यौ। तर कुल्दिपको विशिष्टताले उनलाई टेस्ट क्रिकेट तर्फ पनि डोर्यायो। उनी ‘लेफ्ट आर्म रिस्ट स्पिनर’ हुन्। यही नै उनको विशेषता हो। विश्वमा भएका सम्पूर्ण ‘लेफ्ट आर्म रिस्ट स्पिनर’को सूची बनाउने हो भने पनि, नामहरू औँलामा गन्न सकिन्छन्। त्यसमाथि कुल्दिप जस्तो स्थिरता भएका त शायदै कोही होलान्।
सन् २०१७ मार्चमा अस्ट्रेलियाविरुद्ध टेस्ट ‘डेब्यु’ गरेका कुल्दिपले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। डेभिड वार्नर, पिटर ह्यान्डसकोम र ग्लेन म्याक्सवेल जस्ता धुरन्धर ब्याट्सम्यानलाई पविलियन फर्काएका कुल्दिपले सो खेलमा ४ विकेट लिएका थिए। कुल्दिपको खेल देखेर यस्तो लाग्थ्यो मानौं ‘शेन वार्न’ नै स्वयम् बलिङ गरिरहेका छन्। तर ४ वर्ष यता कुल्दिपले मात्र ६ टेस्ट खेलेका छन्।
आखिर के भयो त कुल्दिपको करियरलाई ? के ब्याट्सम्यानहरुले उनको टेक्निक बुझेका हुन् त ? कि त विश्लेषकहरुले नै उनको स्पिन बलिङको रहस्य पत्ता लगाए ? के उनमा आत्मविश्वासको कमी देखिएको हो ? के मात्र २६ वर्षमै कुल्दिपको करियर साँच्चै अन्योलमा परेकै हो त ?
यीमध्ये अन्तिम दुई प्रश्नको उत्तर “हो” मा दिन सकिन्छ। २२ महिना यता उनको टी-ट्वेन्टी क्रिकेटको ‘फर्म’ले यो साफ देखाउँछ। उनले २ वर्षमा कोलकाता नाइट राइडर्सका लागि मात्र २८ आईपीएल खेल खेलेका छन्। भारतीय टी-ट्वेन्टी टोलीमा त उनी सम्मिलित पनि छैनन्।
भारतीय स्पिनरहरुमा जडेजा र आश्विन पछि तेस्रो नम्बरमा बलियो देखिएका कुल्दिपलाई पछिल्लो समयमा वाशिंगटन सुन्दर, अक्सर पटेल, शाहबाज नदिम जस्ता बलरले पछि पारेका छन्। ‘डगआउट’मा बसेर यी बलरहरुले भारतको लागि खेलेको देख्दा उनको अभिमान र अहंकार दुवैलाई ठूलो चोट परेको छ। र यसले उनको आत्मविश्वासलाई तहसनहस बनाएको अवस्था छ।
विराट कोहली ‘अग्रेसिव’ कप्तान हुन्। उनी आफ्नो टोलीलाई ‘रिस्क’ लिनबाट पछि सार्दैनन्। अझै उनी आक्रामक क्रिकेट खेल्न रुचाउँछन्। उनको आत्मविश्वासको अगाडी प्रतिद्वन्दी त्रसित रहन्छन्। तर कुल्दिप यादवको कुरा आउँदा कोहली आँफै अचम्मित देखिन्छन्। कुल्दिपलाई भरोसा गर्न उनी हिच्किचाउँछन्। उनी ‘लेफ्ट आर्म रिस्ट स्पिनर’लाई विश्वास गर्नै चाहँदैनन्। यसैको शिकार बनेका छन् कुल्दिप।
आफ्नो टोलीको सफलतालाई मैदान बाहिरबाट मात्र नियालेर कुल्दिपको आत्मविश्वास फिर्ता आउने वाला छैन। भारतीय टोलीको लागि मात्र ‘स्क्वाड प्लेयर’ भएर बस्नुभन्दा उनलाई ‘डोमेस्टिक क्रिकेट’को खाँचो छ। उनले धेरै भन्दा धेरै खेल खेलेर नै आफ्नो आत्मविश्वास हासिल गर्न सक्नेछन्। उत्तर प्रदेशका लागि उनले पछिल्लो ‘डोमेस्टिक क्रिकेट’ सन् २०१९ को नोभेम्बर महिनामा खेलेका थिए। उनको करियरलाई पाखा लगाउने अन्तिम अस्त्र ‘डोमेस्टिक क्रिकेट’ नै हो। उनलाई अधिकतम खेल समयको आवश्यकता छ।
सम्पूर्ण क्रिकेट प्रेमी २ वर्ष अघिको कुल्दिप यादवलाई हेर्न पर्खिरहेका छन्। उनको करियरले नयाँ शुरुवात पाओस्, सबैको चाहना यही नै हो।
(डेक्कान हेराल्डबाट)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया