काठमाडौंलाई ‘एनएसएल’को उपाधि

काठमाडौं।  नेपालको पहिलो फ्रेन्चाइज लिग, नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्सले जितेको छ। फाइनल खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले पहिलो संस्करणको ‘एनएसएल’ उपाधि कब्जा गरेको हो।

दशरथ रगंशालामा खेलिएको फाइनल खेलको २१औं मिनेटमा मेसौके ओलोमोउले उत्कृष्ट गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए। विश्वास श्रेष्ठको पासमा क्यामेरुनका खेलाडी ओलोमोउले ‘टो-पोक’ गोल गर्दा काठमाडौंले खेलमा पकड बनाएको थियो।

पहिलो हाफ आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो हाफमा उत्कृष्ट डिफेन्डिङ गर्यो। ४७औं मिनेटमा धनगढीका बुद्धबल तामाङले ‘पोइन्ट ब्ल्याङ्क रेन्ज’बाट प्रहार गरेको शटलाई काठमाडौंका रक्षापंक्तिले उत्कृष्ट बचाउ गरे। त्यस्तै खेलको ५५औं मिनेटमा अशोक खवासले मैदानको दाँया भागबाट गरेको प्रहार काठमाडौंका कप्तान तथा गोलरक्षक विकेश कुथुले शानदार बचाउ गरेका थिए।

यस प्रतियोगिताका सर्वाधिक गोलकर्ता ओलोमोउले गरेको गोल नै निर्धारित गोल बन्न पुग्दा काठमाडौंले पहिलो ‘एनएसएल’को उपाधि उचाल्दै इतिहास रचेको छ। ओलोमोउले यस प्रतियोगितामा ९ खेल खेल्दै ८ गोल गर्न सफल भए।

यसैगरी विजयी टोली काठमाडौंले उपाधिसहित ३५ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उप-विजेता धनगढीले १५ लाख रुपैयाँ प्राप्त गरेको छ।

यसैगरी प्रतियोगितामा सबै विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई १-१ लाख रुपैयाँ प्रदान गरियो। त्यस्तै प्रतियोगिताका इमर्जिङ खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरियो। उत्कृष्ट विधामा छानिएका खेलाडी तथा प्रशिक्षकको सूची यस्तो रह्यो।

उत्कृष्ट गोलरक्षक:  किरण चेम्जोङ (धनगढी)
उत्कृष्ट डिफेन्डर: दिनेश राजवंशी (धनगढी)
उत्कृष्ट मिडफिल्डर: मेसौके ओलोमोउ (काठमाडौं)
उत्कृष्ट फरवार्ड: अन्जन विष्ट (ललितपुर)
इमर्जिङ खेलाडी: विश्वास श्रेष्ठ (काठमाडौं)
उत्कृष्ट प्रशिक्षक: बाल गोपाल महर्जन (काठमाडौं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?