काठमाडौं। इटालियन ओपन टेनिस प्रतियोगिता अन्तर्गत आज (आइतवार) हुने फाइनल खेलमा विश्व नम्बर १ नोभाक जोकोभिच र विश्व नम्बर २ रफाएल नाडाल प्रतिस्पर्धा गर्दै छन्।
रोमको ‘सेन्टर कोर्ट’मा नेपाली समय अनुसार बेलुकी ८:४५ बजे हुने खेलमा यी दुई ‘महारथी’ आमने सामने हुँदै छन्।
९ पटक विजेता नाडालले सेमीफाइनल खेलमा अमेरिकी खेलाडी रेली ओपेलकालाई ६-४, ६-४ को सोझो सेटमा पराजित गरेका थिए। ‘क्ले कोर्ट’ का राजा भनेर प्रख्यात नाडालको ९ पटकको उपाधि कीर्तिमानी रहेको छ।
उता शनिवारनै क्वार्टर फाइनल र सेमीफाइनल दुवै खेल खेलेका जोकोभिच यस प्रतियोगिताका साविक विजेता हुन्। उनले क्वार्टर फाइनलमा विश्व नम्बर ५ स्टेफानो सिसिपासमाथि उत्कृष्ट पुनरागमन जित निकालेका थिए। पहिलो सेट ४-६ ले पराजित भएका जोकोभिचले पछिल्ला दुई सेट ७-५,७-५ ले आफ्नो पोल्टामा पार्न सफल भएका थिए।
त्यस्तै हिजै खेलिएको सेमीफाइनल खेलमा उनले इटालियन खेलाडी लोरेन्जो सोनेगोलाई ६-३, ६-७(५-७), ६-२ को सेटमा पराजित गरेका थिए।
उता महिला तर्फको फाइनल खेलमा विश्व नम्बर १५ इगा स्विआटेक र विश्व नम्बर ९ करोलिना प्लिस्कोवा प्रतिस्पर्धा गर्दै छन्। सो फाइनल खेल नेपाली समय अनुसार आइतवार साँझ ६:१५ बजे खेलिने छ। इगाले गत वर्षको फ्रेन्च ओपन उपाधि जितेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया