ला-लिगा : आज महत्वपूर्ण दिन, उपाधि टुङ्गो लाग्ने सम्भावना

आर्जव घिमिरे/काठमाडौं । स्पेनिश ला-लिगामा आज (आइतवार) रियल मड्रिड, एथ्लेटिको मड्रिड र बार्सिलोनाको खेल एउटै समयमा शुरू हुँदैछ।

नेपाली समय अनुसार राति १०:१५ बजे शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड ओसासुनाविरुद्द आमने सामने हुंदैछ। त्यस्तै दोस्रो स्थानमा रहेको रियल मड्रिडले एथ्लेटिको बिलबाओसँग र तेस्रो स्थानमा रहेको बार्सिलोनाले सेल्टा भिगोसँग उही समयमा प्रतिस्पर्धा गर्दैछ।

एथ्लेटिको मड्रिडले यदि आफ्नो घरेलु मैदान ‘वान्डा मेट्रोपोलिटियानो’मा ओसासुनालाई पराजित गरेको खण्डमा उपाधि होडमा एथ्लेटिको निकै बलियो हुनेछ।

रियलले आजको खेल बिलबाओको घरेलु मैदानमा खेल्दै छ। रियललाई यो खेल पक्कै पनि सजिलो भने हुने छैन। रियलले बिलबाओको मैदानमा पछिल्ला तीन खेल खेल्दा मात्र १ जित निक्लन सफल भएको छ। बाँकि दुई खेल भने बराबरीमा टुंगिएका थिए। आजको खेलमा रियललाई जित अपरिहार्य छ। यदि रियलले जित निकाल्न नसकेको खण्डमा र एथ्लेटिको मड्रिड आज विजयी भएको खण्डमा एथ्लेटिकोले स्वतह उपाधि जित्ने छ।

उता बार्सिलोनालाई भने उपाधि लगभग असम्भव देखिएको छ। बार्सिलोनालाई पनि आज सेल्टा भिगोविरुद्ध जितको नतिजा अपरिहार्य रहेको छ। यति मात्रै होइन, उपाधि उचाल्न बार्सिलोनाले आफ्नो सबै खेल त जित्नु पर्ने नै छ, तर शीर्ष दुई टोलीको पराजयको आशा पनि राख्नु पर्नेछ।

अहिलेसम्म ला-लिगाको अंक तालिकामा एथ्लेटिको मड्रिड ३६ खेलमा ८० अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको ३६ खेलमा ७८ अंक छ। त्यस्तै तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलमा ७६ अंक रहेको छ।

ला-लिगामा अब यी तीन टोलीले समान २-२ खेल खेल्न बाँकि छ। यी तीन टोलीका प्रतिद्वन्दी र उपाधि सम्भावना यस्तो रहेको छ।

एथ्लेटिको मड्रिड

प्रतिद्वन्दी: ओसासुना (होम), रियल भ्यालाडोइड (अवे)

उपाधि जित्न

१) दुवै खेलमा जित निकालेको खण्डमा उपाधि पक्का
२) ओसासुना विरुद्ध जित, रियलको विलबाओसँग पराजय वा बराबरी
३) आफ्नो दुवै खेलमा बराबरी, रियल र बार्साको दुई खेलमध्ये मात्र एक खेलमा जित
४) रियल र बार्साको दुवै खेलमा पराजय
५) आफ्नो दुवै खेलमा पराजय, रियल र बार्साको पनि दुवै खेलमा पराजय

 

रियल मड्रिड

प्रतिद्वन्दी: एथ्लेटिक बिलबाओ (अवे), भिल्लारियल (होम)

उपाधि जित्न

१) आफ्नो दुवै खेलमा जित, एथ्लेटिको मड्रिडको मात्र एक खेलमा जित
२) आफ्नो एक खेलमा जित र एकमा बराबरी, बार्साको पनि दुवै खेलमा जित, एथ्लेटिको मड्रिडको दुवै खेलमा पराजय वा बराबरी
३) आफ्नो दुवै खेलमा जित, बार्सा र एथ्लेटिकोको दुवै खेलमा पराजय

 

बार्सिलोना

प्रतिद्वन्दी: सेल्टा भीगो (होम) एबार (अवे)

उपाधि जित्न

१) आफ्नो दुवै खेलमा जित, एथ्लेटिको र रियलको दुवै खेलमा पराजय
२) आफ्नो दुवै खेलमा जित, एथ्लेटिकोको दुवै खेलमा पराजय, रियलको एक खेलमा पराजय
३) आफ्नो दुवै खेलमा जित, एथ्लेटिकोको दुवै खेलमा पराजय, रियलको दुवै खेलमा बराबरी

यस्तो रोमाञ्चक उपाधि होड ला-लिगामा वर्षौं पछि भएको छ। यदि एथ्लेटिको मड्रिडले आज उपाधि नजितेको खण्डमा उपाधि होड लिगको अन्तिम दिनसम्म लम्बिने छ। ला-लिगामा ‘मे २३’ तारीखको दिन यी तीन टोलीले आ-आफ्नो अन्तिम खेल खेल्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?