बज्रवाराही जात्रा नगर्न स्थानीय निकायको सुझाव, जात्रा गर्नैपर्ने पुजारीहरुको अडान

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका ६ मा हरेक तीन वर्षमा मनाइँदै आएको बज्रवाराही जात्रा यो वर्ष नगर्न स्थानीय निकायले  आग्रह गरेको छ ।

आइतवार जात्रासँग सम्बन्धित सरोकारवाला समुदायसँगको छलफलमा नगर प्रमुख लवशेर विष्टले कोरोना संक्रमित संख्या दिनहुँ बढिरहेकाले जात्रा स्थगन गर्न सुझाव दिएका हुन् । जात्रामा हुने भीडभाडले थप संकट निम्तिन सक्ने भन्दै विष्टले जात्राको विधि मात्रै पूरा गर्न पनि सुझाए। यस्तै उनले जात्राको विधि पूरा गर्न न्युनतम संख्यामा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मोडालिटी तयार पारेर छलफलमा आउन आग्रह गरे ।

छलफलमा सहभागी धामीझाँक्री तथा पुजारीहरुले भने कुनै पनि हालतमा जात्रा गर्नैपर्ने बताएका छन्। जात्रामा भोग दिन भक्तालुहरुले भाकल गरि पशुपन्छी पालिरहेको चार वर्ष भैसकेकोले पनि जोखिम न्यूनीकरणका उपाय अपनाएर भएपनि जात्रा गर्नुपर्ने उनीहरुको अडान राखेका छन् ।

भोग दिन पालेको राँगा गत वर्ष जात्रा नभएपछि वडा कार्यालय तथा स्थानीय गुठियारहरुबाट दानापानीको व्यवस्था गरि पाल्दै आएका छन् । उता, जात्रा नहुदा तान्त्रिक बिधिबाट नचाइने १२ वर्षे नाच समेत प्रभावित हुने स्थानीयको दाबी छ ।

तिथि अनुसार यो वर्षको जात्रा जेठ १५, १६ र १७ गते पर्दछ । कोरोना महामारीका कारण गत वर्ष पनि यो जात्रा स्थगित गरिएको थियो ।

शनिवारसम्म थाहानगरमा ४ सय ३ जनाको स्वाव परिक्षण गरिएकोमा २ सय जना संक्रमित फेला परेका छन् । वडा नम्बर १ मा ७० जनाको परिक्षण गर्दा ३०, वडा नम्बर २ मा ६१ जनामा ३०,  वडा नम्बर ३ मा १ सय २ जनामा ७०, वडा नम्बर ४ मा ५९ जनामा १७ जना संक्रमित भएका छन् ।

त्यसैगरी वडा नम्बर ५ मा १८ जनामा परिक्षण गर्दा १० जना, वडा नम्बर ६ मा ५१ जनामा २३, वडा नम्बर ७ मा २ जनामा १, वडा नम्बर ८ मा ४ जनामा १, वडा नम्बर ९ मा १३ जनामा ३, वडा नम्बर १० मा १० जनामा ५, वडा नम्बर ११ मा ८ जनामा परिक्षण गर्दा ७ जना संक्रमित फेला परेको स्थानीय सुरेन्द्रमान प्रधानले जानकारी दिए।

थाहानगरमा अहिलेसम्म २ जना संक्रमितको मृत्यु भएको छ भने संक्रमित दर ४९ दशमलव ६२ प्रतिशत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?