ला-लिगा : उपाधि होडमा अब एथ्लेटिको र रियल बाँकि, बार्सिलोना बाहिरियो

काठमाडौं।  स्पेनिश ला-लिगा अन्तर्गत गए राति खेलिएका खेलहरुमा एथ्लेटिको मड्रिड र रियल मड्रिड विजयी भएका छन्। बार्सिलोना भने सेल्टा भीगोसँग पराजित हुँदा उपाधि होडबाट बाहिरिएको छ।

निकै नै रोमाञ्चक मोडमा पुगेको ला-लिगा अब अन्तिम खेलमा नै टुङ्गो लाग्ने भएको छ। गए राति भएको खेलमा एथ्लेटिको मड्रिडले ओसासुनालाई २-१ गोलले पराजित गर्यो। आफ्नै घरेलु मैदानमा पछि परेको एथ्लेटिकोले खेलको ८२औं र ८८औं मिनेटमा गोल गर्दै पुनरागमन जित निकाल्यो। जित महत्वपूर्ण रहेको एथ्लेटिकोका नायक बने लुइस स्वारेज। बार्सिलोनाका पूर्व स्ट्राइकर स्वारेजले ओसासुनाविरुद्ध अन्तिम समयमा गोल गर्दा एथ्लेटिको उपाधिबाट मात्र १ खेल टाढा छ।

त्यस्तै अर्को खेलमा रियल मड्रिडले पनि एथ्लेटिक बिलबाओमाथि १-० को जित निकालेको छ। दोस्रो हाफको ६८औं मिनेटमा डिफेन्डर नाचोले गरेको गोल नै निर्णायक गोल बन्न पुग्दा रियलले बिलबाओको घरेलु मैदानमा जित दर्ता गरेको हो।

यसैबिच बार्सिलोना भने उपाधि होडबाट बाहिरिएको छ। घरेलु मैदानमा सेल्टा भिगोसँग २-१ गोलले पराजय भोगेको बार्सिलोनालाई ला-लिगाको उपाधि अब असम्भव भएको छ। पहिलो हाफमा कप्तान लियोनल मेस्सीको गोलबाट अग्रता लिएको बार्सिलोनाले आफ्नो अग्रता कायम राख्न भने सकेन। सेल्टा भिगोका लागि सान्टी मिनाले २ गोल गर्दै बार्सिलोनाको उपाधि सपना चकनाचुर पारिदिए।

अब ला-लिगा दुई घोडाको रेस बनेको छ। ३७ खेलमा ८३ अंक बटुल्दै एथ्लेटिको मड्रिड शीर्ष स्थानमा कायमै छ। उता ३७ खेलमा ८१ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा रहेको छ। ‘मे २३’ तारीखमा खेलिने अन्तिम खेलहरुमा रियललाई जित अपरिहार्य छ। यदि एथ्लेटिको मड्रिडले आफ्नो अन्तिम खेलमा रियल भ्यालाडोइडविरुद्ध जित निकालेको खण्डमा उपाधि एथ्लेटिकोको हुनेछ।

तर यदि रियल मड्रिडले भिल्लारियलविरुद्ध अन्तिम खेलमा जित निकाल्दा एथ्लेटिकोले बराबरी वा पराजयको नतिजा निकालेको खण्डमा उपाधि रियल मड्रिडले उचाल्ने छ।

उपाधि विजेता हेर्न ला-लिगाको अन्तिम चरण कुर्नु पर्ने अवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?