काठमाडौं। युईएफए महिला च्याम्पियन्स लिगको उपाधि स्पेनिश टोली बार्सिलोनाले जितेको छ। बार्सिलोनाले फाइनल खेलमा इंग्लिश क्लब चेल्सीलाई ४-० गोलको भारि अन्तरले पराजित गरेको हो।
आईतवार भएको फाइनल खेलको पहिलो मिनेटमै बार्सिलोनाले अग्रता लिएको थियो। मेलानीले आत्मघाती गोल गर्दा बार्साले पहिलो मिनेटमै अग्रता लिएको थियो।
त्यसपछि खेलको १४औं मिनेटमा बार्सिलोनालाई पेनाल्टी प्रदान गरियो। सो मौकामा एलेक्सीया पुटेलसले बार्सिलोनाको अग्रता दोब्बर बनाइन्।
बार्सिलोनाले चेल्सीमाथि हैकम जमाएको थियो। खेलको २९औं मिनेटमा एट्ना बोनमाटीले बार्साको अग्रता तेब्बर बनाइन्। त्यसपछि खेलको ३६औं मिनेटमा क्यारोलिनी ग्राहमले बार्सिलोनाको अग्रतालाई ४ गोलले बढुवा दिन सफल भइन्।
पहिलो हाफको खेल सकिँदा बार्सिलोनाले चेल्सीमाथि ४ गोलको अग्रता लिइसकेको अवस्था थियो। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना महिला टोलीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि चुमेको हो।
यसअघि बार्सिलोना सन् २०११ को च्याम्पियन्स लिग फाइनलमा फ्रेन्च क्लब लियोनसँग पराजित भएको थियो।
उता चेल्सीको लागि भने यो अप्रत्याशित हार बन्न पुग्यो। यस वर्ष चेल्सीको महिला टोलीले सुपर लिग र लिग कप दुवै उपाधि उचालेको थियो। तर, पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको चेल्सी महिला टोलीले नमिठो हार बेहोर्न पुग्यो।
त्यस्तै चेल्सीको पुरुष टोली पनि युईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको अवस्था छ। फाइनल खेलमा चेल्सीले इंग्लिश प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया