काठमाडौं। इङ्ल्यान्डका कप्तान ह्यारी केन फुटबलमा ठूला नाम हुन्। विश्वमा उत्कृष्ट मध्येका एक स्ट्राइकर ह्यारी केनले लामो समय देखि टोटनह्यामका लागि व्यवसायिक फुटबल खेल्दै आएका छन्। केनले यस सिजनको अन्त्यमा भने क्लब छोड्न चाहेको कुरा उल्लेख गरेका छन्।
पछिल्ला ६ सिजनमा स्पर्सका लागि सर्वाधिक गोलकर्ता केन क्लबका उप-कप्तान पनि हुन्। तर क्लबले कुनै पनि उपाधि जित्न नसक्दा केन निराश देखिएका छन्। सन् २०१९ मा लिभरपुलसँग च्याम्पियन्स लिग फाइनलमा पराजय भोगेको टोटनह्यामले यसै महिना म्यानचेष्टर सिटीसँग इंग्लिश कपको फाइनलमा पनि पराजय भोगेको थियो। यसैबीच केनले आफुले स्पर्स छाड्ने निर्णय गरेका हुन्। हुन त उनको स्पर्स करियर सकिएको अनुमान केही महिना अगाडि देखि नै गरिएको थियो।
सन् २०११ देखि टोटनह्याममा आबद्ध भएका केन क्लबका दोस्रो सर्वाधिक गोलकर्ता हुन्। उनले टोटनह्याममा बिताएको एक दशकमा ३३४ खेल खेल्दै २२० गोल गरेका छन्। उनी युरोपियन फुटबलमा टोटनह्यामका लागि सर्वाधिक गोलकर्ता पनि हुन्। उनले स्पर्सका लागि ६३ युरोपियन खेल खेल्दै ३८ गोल गरिसकेका छन्।
केनको प्रस्थान टोटनह्यामका लागि निकै ठूलो धक्का हुनेछ। प्रतिद्वन्दी म्यानचेष्टर युनाइटेड, म्यानचेष्टर सिटी र चेल्सी जस्ता क्लबले उनका प्रतिनिधिसँग कुरा पनि गरिसकेका छन्।
युरो २०२० मा इङ्ल्यान्डलाई कप्तानी गर्न गइरहेका केन आफ्नो भविष्यको छिनोफानो युरो अगावै गर्न चाहन्छन्। यस सिजन २२ गोल गरिसकेका केन सर्वाधिक गोलकर्ताको सूचीमा लिभरपुलका सालाहसँग शीर्ष स्थानमा रहेका छन्।
आफ्नो तेस्रो ‘गोल्डेन बुट’मा आँखा लगाएका केनले प्रिमियर लिगमै आफ्नो भविष्यलाई निरन्तरता दिन चाहेको कुरा पनि बताएका छन्। प्रिमियर लिगका सर्वाधिक गोलकर्ता एलेन शियररको २६० गोल भन्दा मात्र ९५ गोल पछि रहेका २७ वर्षीय केन शियररको यो कीर्तिमान तोड्ने दाउमा देखिन्छन्।
केनले २०२१/२२ सिजन कुन क्लबबाट खेल्ने हुन् ? फुटबल प्रेमीहरु केनको नयाँ गन्तव्य क्लब थाहा पाउन निकै आतुर देखिन्छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया