इंग्लिश प्रिमियर लिग : लेस्टरसँग ‘एफए’ कपको बदला लिने दाउमा चेल्सी, लिभरपुललाई ठूलो चासो

आर्जव घिमिरे/ काठमाडौं।  इंग्लिश प्रिमियर लिग अन्तर्गत मंगलवार राति चेल्सी र लेस्टर सिटी प्रतिस्पर्धा गर्दै छन्।

चेल्सीको घरेलु मैदान ‘स्ट्यामफोर्ड ब्रिज’मा यी दुई टोलीको खेल नेपाली समय अनुसार राति १:०० बजे शुरु हुनेछ। गत शनिवार मात्र एफए कप फाइनलमा प्रतिसपर्धा गरेका यी दुई टोली तीन दिनको समयमा फेरि आमने सामने हुने भएका छन्।

एफए कप फाइनलमा लेस्टरविरुद्ध १-० गोलले पराजय भोगेको चेल्सी आफ्नो घरेलु मैदानमा बदला को भावना लिएर मैदानमा उत्रिने छ। ‘टप ४’ को लागि इंग्लिश प्रिमियर लिगमा तछाड मछाड भइरहेको बेला यी दुवै टोलीलाई आजको खेल एफए कपको फाइनल भन्दा कम महत्वपूर्ण छैन।

पछिल्लो समयमा लिभरपुलको पुनरागमन भएपछि यी दुई टोलीलाई ‘टप ४’ मा स्थान बनाउन आजको खेलमा जित अपरिहार्य छ।

प्रिमियर लिगमा अब मात्र २ खेल बाँकि छन्। जसमा तेस्रो स्थानमा रहेको लेस्टरले चेल्सी र टोटनह्यामको सामना गर्दैछ। पुरै सिजन ‘टप ४’ को सेरोफेरोमा बिताएको लेस्टरलाई अब भने निकै चुनौतीपूर्ण समय देखिएको छ। यी दुई कठिन खेलमा जित निकाल्दै लेस्टर अर्को वर्ष च्याम्पियन्स लिग फुटबल खेल्न चाहन्छ। गत वर्ष पनि लेस्टर सिजनको अन्तिम खेलमा ‘टप ४’ बाट बाहिरिएको थियो। तर क्लब इतिहासमै पहिलो पटक एफए कपको उपाधि जितेको लेस्टरको आत्मविश्वास यसपालि भने निकै बढेको हुनु पर्दछ।

उता फ्र्याङ्क ल्याम्पार्डको स्थानमा आएका जर्मन प्रशिक्षक थोमस टुचेलले चेल्सीको काया पलट गरिदिएका छन्। २७ खेलमा १७ जित निकालेको टुचेलको चेल्सीले सो दौरान मात्र १३ गोल खाएको छ। गत बुधवार घरेलु मैदानमा आर्सनलसँग पराजित भएको चेल्सी शनिवार लेस्टरसँग फेरि पराजित हुँदा एफए कपको उपाधि पनि गुमायो। टुचेल चेल्सीको प्रशिक्षक भए पश्चात पहिलो पटक चेल्सीमा समस्या देखिएको छ।

चौथौं स्थानमा रहेको चेल्सीलाई ‘टप ४’ को यात्रा अहिले आएर कठिन देखिएको छ। ‘मे २९’ तारीखमा ‘युईएफए च्याम्पियन्स लिग’ फाइनल खेल्न गइरहेको चेल्सीले सो खेल जितेको खण्डमा अर्को वर्ष स्वतह च्याम्पियन्स लिग फुटबल खेल्न पाउनेछ। तर म्यानचेष्टर सिटीविरुद्ध चेल्सीलाई जित पक्कै सजिलो हुने छैन। उता लिगमा लेस्टर र एस्टन भिल्लासँग आफ्नो अन्तिम दुई खेल खेल्न बाँकि रहेको चेल्सीलाई दुवै खेल सजिलो छैन। भिल्लाको घरेलु मैदानमा अन्तिम खेल चेल्सीको लागि अझै चुनौतीपूर्ण हुनेछ। भिल्लाले आफ्नो घरेलु मैदानमा यो सिजन ठूला क्लबहरूलाई पराजित गरेको छ। त्यसमध्ये लिभरपुललाई ७ गोल हानेको सम्झना निकै ताजा छ।

उता लिभरपुललाई भने लेस्टर र चेल्सीको खेल अर्कै हिसाबले महत्वपूर्ण हुनेछ। पाँचौं स्थानमा रहेको लिभरपुलले आफ्ना पछिल्ला तीन खेलमा जितको नतिजा निकाल्न सफल भएको छ। गत हप्ता म्यानचेष्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा पराजित गरेको लिभरपुलले आईतवारको खेलमा वेस्ट ब्रमविरुद्ध अप्रत्याशित जित निकालेको थियो। गोलकिपर एलिसन बेकरले खेलको अन्तिम समयमा हेडर गोल गर्दा लिभरपुलले वेस्ट ब्रममाथि २-१ को जित निकालेको थियो। यी नतिजाहरुले लिभरपुलको पुनरागमनको संकेत दिएको छ। आफ्ना अन्तिम दुई खेलमा बर्नली र क्रिस्टल प्यालेसको सामना गर्न गइरहेको लिभरपुल पनि ‘टप ४’ सुनिश्चित गर्दै अर्को वर्ष च्याम्पियन्स लिग फुटबल खेल्न उत्सुक छ।

यस्तै अन्य खेलमा आज म्यानचेष्टर सिटीले ब्राइटनको भ्रमण गर्दैछ। उपाधि जितिसकेको सिटीलाई आजको खेलमा पनि ब्राइटनद्वारा ‘गार्ड अफ अनर’ प्रदान गरिने अनुमान राखिएको छ। नेपाली समय अनुसार सो खेल मंगलवार राति ११:४५ बजे शुरु हुँदैछ। यस्तै दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडले आजको खेलमा रेलिगेशनमा परेको टोली फूलह्यामसँग प्रतिस्पर्धा गर्दैछ। पछिल्ला दुई खेलमा हार बेहोरेको युनाइटेड आजको खेलमा पुनरागमन जित निकाल्ने सुरमा रहनेछ। यो खेल नेपाली समय अनुसार राति १०:४५ बजे शुरु हुँदैछ।

शीर्ष दुई स्थान पहुंचबाट टाढा भएपछि तेस्रो र चौथौ स्थानको लागि खुट्टा तानातानको स्थिति आएको हो। प्रिमियर लिगको शीर्ष ७ टोलीको अंक तालिका यस्तो रहेको छ।

प्रिमियर लिगको ‘टप ४’ रेस निकै रोमाञ्चक स्थितिमा पुगेको छ र आज चेल्सीविरुद्ध लेस्टरको खेलले यसलाई नयाँ आकार दिने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?