जसपामा सहमतिले प्रधानमन्त्री ओलीलाई धक्का, अब के होला ?

काठमाडौं । फुटको संघारमा पुगेको भनिएको जनता समाजवादी पार्टी (जसपा) को विभाजन तत्कालका लागि टरेको छ ।

औपचारिक रुपमा फुटको घोषणा हुन मात्रै बाँकी रहेको भनिएको अवस्थामा जसपाका नेताबीच एका एक सहमति बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने कि राख्ने भन्ने विवादमा जसपा फुटको डिलमा पुगेको थियो ।

जसपा भित्रको पूर्व राजपा पक्ष प्रधानमन्त्री ओलीको पक्षमा छ भने पूर्व समाजवादी पार्टी ओलीको विपक्षमा छ । पूर्व राजपा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले गर्दै आएका छन् भने पूर्व समाजवादी पक्षको नेतृत्व अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराइले गरेका छन् । तर मंगलवार ठाकुर र यादवबीच वार्ता भएर सहमति जुटेपछि जसपाको फुट तत्कालका लागि नाटकीय रुपमा टरेको छ । अध्यक्षद्वय ठाकुर र यादवबीच ओली नेतृत्वको सरकारमा सहभागी नहुने र प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने सहमति भएको छ । गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने बेलामा ठाकुर पक्षका सांसद तटस्थ बसेका थिए भने यादव पक्षका सांसदले विपक्षमा मतदान गरेका थिए ।

ठाकुर र यादवबीच वार्ता भएर सहमति जुटेपछि दुबैको हस्ताक्षर सहित विज्ञप्ति जारी गरिएको छ । दुई अध्यक्षबीच ओली नेतृत्वको सरकारमा सहभागी नहुने बरु आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको छ । जसपा सरकारमा सहभागि हुने होकि नहुने हो भन्ने जस्ता बिभिन्न अड्कलबाजी भइरहेको बेला दुई अध्यक्षबीच तत्काल सहमति भइ सरकारमा सहभागी नहुने सहमति बनेको हो । जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । जसपाको यो निर्णयसँगै अव प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नपाउने संभावना बढेको छ ।
अब के होला त ?

प्रधानमन्त्री ओलीले २७ वैशाखमा प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए, तर उनले विश्वासको मत पाउन सकेनन् ।

ओलीले एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदबाटै मत पाएनन् । ओलीले जम्मा ९३ मत पाए भने विपक्षमा १ सय २४ मत परेको थियो । ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार निर्माणका लागि ३ दिनको समय दिएकी थिइन । तर कांग्रेस,माओवादी र जसपाको उपेन्द्र पक्ष एकातिर हुँदा ओलीको बिकल्पमा गठबन्धन सरकार बन्न सकेन किनकि ठाकुर पक्षका

सांसदले कतैतिर मत नदिने भनेपछि गठबन्धन सरकार बन्ने बाटो बन्द भयो । ओलीले अहिले संसदमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा नेकपा एमालेको अल्पमतको सरकार चलाइरहेका छन् । उनले ३० दिनभित्र सदबाट विश्वासको मत लिनु पर्ने हन्छ । ओली बैशाख ३० गते अल्पमतको सरकारका प्रधानमन्त्री बनेका हुन् । जसपाले सरकारमा सहभागि नहुने बताएसंगै ओलीले विश्वासको मत का लागि कित नेपाली कांग्रेस कित माओवादीको सहयोग लिनुपर्ने हुन्छ । यो संभावना निकै कम छ । किनकि कांग्रेस र माओवादी ओलीको बिपक्षमा छन् । ओली अहिले नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री छन् ।

उनले ३० दिनभित्र संसदबाट विश्वासको मत नपाए स्वतः राजनीनामा दिनुपर्नेछ । जसपाका नेता गंगानारायण श्रेष्ठ दुइ अध्यक्षबीचको सहमति निकै सकारात्मक रहेको बताउँछन । यो सहमतिले ओलीको नेतृत्वको सरकारमा सहभागी नहुने भन्ने स्पष्ट पारेको श्रेष्ठको भनाइ छ । आफ्नै नेतृत्वमा सरकार बनाउने हाम्रो पहल हुन्छ अब अरु निर्णय कार्यकारिणी समितिको बैठकले गर्छ श्रेष्ठ भन्छन् । प्रधानमन्त्री ओलीले अव विश्वासको मत पाएनन् भने संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभाको कुनैपनि सदस्यले संसदमा बहुमत सदस्य आफ्नो पक्षमा रहेका र विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने भन्ने संवैधानिक व्यवस्था छ । जसपाको निर्णयले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनका लागि धक्का लागेको छ ।

ओलीलाई संसदमा विश्वासको मतका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ । तर ओलीको पार्टी एमालेसँग १ सय २१ जनामात्रै सांसद छन् । ठाकुर र यादवबीच सहमति नभएको भए प्रधानमन्त्री ओलीलाई ठाकुर पक्षका १५ सांसदको मत आउँछ र विश्वासको मत प्राप्त हुन्छ भन्ने आश थियो । तर सिंगो जसपाले नै ओली सरकारमा सहभागी नबन्ने बताएपछि ओलीलाई संकट आइलागेको एक राजनीतिक विश्लेषकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?