निषेधाज्ञा : यी पेशाकर्मी जसको काम पनि खाली छैन, हात पनि खाली छैन

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाले धेरैको आम्दानी रोकिएको छ । निषेधाज्ञाका कारण विशेष गरी हुँदा खानेवर्ग ठूलो मारमा परेको छ । उनीहरुलाई यतिबेला एकातिर रोगबाट बच्नुपर्ने डर, अर्काेतिर भोक मेट्नुपर्ने चिन्ता छ ।

विशेषगरी शहरी क्षेत्रमा बस्नेहरुको दैनिकी कष्टकर बन्दै गएको छ । कतिपयले व्यवसाय बन्द गरेर पनि महंगो भाडा तिर्नु परेको छ ।

कतिपयले रोजगारी गुमाएका छन् । रोजगारी कायमै रहेकाहरुले पनि कसैले ज्यालादारीमा पारिश्रमिक पाएका छन्, कतिपयले आधा पारिश्रमिक पाएका छन् ।

कतिपय कम्पनी संचालकका लागि कोरोना र निषेधाज्ञा कर्मचारी तथा सेवासुविधा कतौटी गर्ने सबैभन्दा उपयुक्त मौका बनेको छ । वर्षाैदेखिको कमाइले एक दुई महिना कर्मचारी पाल्न नचाहने साहुका लागि मौका बनेपछि श्रमिकका लागि भने दशा बन्ने गरेको छ । यावत कारणवश सानोतिनो रोजगारी र व्यापार ब्यबसाय गर्ने मारमा परेका छन् । दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने वर्गको पीडा त छँदैछ ।
यसका वाबजुत पनि कतिपय पेशा तथा व्यवसाय गरिरहेकाहरुको आम्दानीमा भने खासै प्रभाव परेको छैन ।

१. फ्रन्टलाइनर्स

फ्रन्टलाइनर्स नर्सका रुपमा कार्यरत पेशाकर्मीहरु यतिबेला जोखिम मोलेरै कोभिड १९ विरुद्ध अग्रपंक्तिमा खटिएर काम गरिरहेका छन् । अरुको जीवन बचाउन जोखिम मोलेरै क्रियाशिल उनीहरुमध्ये कतिपयले त जोखिमवापतको भत्ता पनि पाउदै आएका छन् । यद्यपि जोखिम भत्ताबापतको रकम नपाएको गुनासो यदाकदा सुनिन्छ । यतिबेला फ्रन्टलाइन्र्सहरुलाई प्रोत्साहन गर्नुपर्छ त्यसकारण उनीहरुको मनोवल घट्ने कुनैपनि कदम उचित हुँदैन । यस अन्तर्गत चिकित्सक, नर्स, एम्वुलेन्स चालकलगायतका स्वास्थ्यकर्मी, प्रहरी, सेना, सरक्षागार्डलगायतका सुरक्षाकर्मी र सरसफाइकर्मीहरु पर्दछन् ।

सञ्चारकर्मीहरुलाई पनि फ्रन्टलाइनर्सकै रुपमा लिईन्छ । तर यो क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीहरुले भने अन्य फ्रन्टलाइनर्सहरुले जस्तो सेवा सुविधा र पारिश्रमिक पाएका छैनन् । दुई चार महिनाको महामारी समेत झेल्न असमर्थ संचार प्रतिष्ठानले कर्मचारी तथा संचारकर्मी कटौती गरेका छन् भने कतिपयले सेवा सुविधा रोका गरेका छन् ।

२. सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारी

निषेधाज्ञामा पनि आम्दानीमा कुनै प्रभाव नपर्ने अर्का वर्ग हुन्, निजामती तथा सार्वजनिक संस्थानका कर्मचारीहरु । उनीहरुले नियमित रुपमा पारिश्रमिक पाईरहेका छन् । बैठक तथा भ्रमण भत्ताबाहेक यस प्रकारका कर्मचारीहरुको आम्दानीमा खासै प्रभाव परेको छैन । यस्तै विदेशी आइएनजिओमा कार्यरत कर्मचारीहरुको पारिश्रमिकमा पनि खासै प्रभाव परेको छैन । कतिपय आइएनजिओका कर्मचारीले राहत वितरणमा खटिएवापतको जोखिम भत्ता पनि पाएका छन् ।

३. खाद्यन्न व्यवसायी

निषेधाज्ञामा सरकारले प्राय सबै व्यापार व्यवसाय बन्द गरेको छ । यद्यपि अत्यावश्यक खाद्यन्न व्यवसायलाई भने रोक लगाएको छ । काठमाडौं उपत्यकामा बिहान १० बजेसम्म खाद्यन्न पसल खोल्न दिइएको छ । खाद्यन्न ढुवानीका लागि कुनै रोक लगाइएको छैन । निषेधाज्ञामा एकातिर सर्वसाधारण घरभित्र छन् । यसले गर्दा परिवार सबै सँगै हुँदो मीठोमसिनो पकाएर खाने गर्दछन् । यसले खाद्यन्नको उपभोग बढ्दो छ । अर्काेतिर खाद्यन्न अभाव हुने हो कि भन्ने त्रासले पनि सर्वसाधारणले आवश्यक भन्दा बढी खाद्यन्न किनेर राख्ने गरेका छन् । यसले खाद्यन्न व्यवसायीको आम्दानी घटेको छैन । यसका साथै राहत वितरण जस्ता गतिविधि हुने भएकाले कतिपयको आम्दानी बढ्दो छ । निषेधाज्ञाका कारण होलसेल पसलसम्म पुग्ने असुविधाका कारण खुद्रा पसलहरुको कारोबार बढेको छ । यस्तै माछामासु, पानी, ग्यासलगायतका व्यवसाय मा संलग्नहरुको आम्दानीमा पनि खासै प्रभाव परेको देखिँदैन । यसका साथै कृषि पेशामा आबद्ध ब्यक्तिहरुलाई पनि यसले खासै असर गरेको छैन ।

४. औषधिजन्य व्यवसायी 

कोरोना महामारीमा सबैभन्दा बढी फस्टाएको व्यवसाय हो, औषधिजन्य व्यवसाय । औषधिजन्य व्यवसाय २४ घण्टा खुल्ने मात्रै होइन अत्यावश्यक वस्तु भएकाले पनि यसको व्यवसायगर्नेहरुको आम्दानीमा खासै प्रभाव गरेको देखिँदैन । विशेषत प्राथमिक उपचारका औषधिहरु, मास्क, स्यानिटाइजर, पन्जा, पीपीई, अक्सिजन, बेडका सामग्रीलगायतको ब्यापार बढ्दो छ । यस्तो ब्यबसाय गर्ने तथा औषधिजन्य उद्योगमा कार्यरत कामदार कर्मचारीहरुको आम्दानीमा खासै प्रभाव परेको छैन ।

५. घरमै बसेर काम गर्नेहरु

कतिपयका लागि निषेधाज्ञा होस् कि लकडाउन उनीहरुलाई खासै मतलव हुँदैन किनकी उनीहरुका लागि घर नै कार्यालय हो । जो सधैं आफ्नै घरमा बसेर काम गर्छन् र आम्दानी गर्छन् । जस्तै घडी, खेलौना, बनाउनेहरु, मूर्ति बनाउने, थांका तथा आर्ट गर्नेहरु आदि इत्यादि । यस प्रकारको काम गर्नेहरुका लागि सधै निषेधाज्ञा सधैं खुला ।

६. अनलाइन रोजगारी

पछिल्लो समय नेपालमा पनि अनलाइन जब गर्नेहरुको संख्या बढ्दो छ । विभिन्न विदेशी कम्पनीहरुले उपलब्ध गराएको प्लेटफर्ममा अनलाइन जब गर्ने तथा आप्mनै कम्पनी खोलेर स्वदेशी विदेशी वेब तथा सफ्टवेयर सम्वन्धी काम गर्नेहरुको आम्दानीमा पनि खासै प्रभाव परेको छैन । उनीहरुका लागि एउटा ल्याप्टप वा कम्युटर नै अफिस हो । त्यसकारण उनीहरु अहिले पनि आप्mनै घरमा बसेर कामलाई निरन्तरता दिईरहेका छन् । यस अन्तर्गत ट्रान्सलेट, डाटा इन्ट्री, वेबसाइट तथा एप्स निर्माता, सप्mटवेयर निर्माणलगायतका कामहरु पर्दछन् ।

७. शेयर बजार

निषेधाज्ञाकैबीच मंगलवार शेयर बजार हालसम्मकै उच्च कारोबार भएको छ । मंगलवार ११ अर्ब भन्दा बढीको कारोबार भएको थियो । नेप्सेका अनुसार मंगलवार शेयर बजारमा ११ अर्ब ३५ करोड, ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएको थियो भने शेयर बजार ३४ दशमलव ६८ अंकले बढेको थियो ।

यसअघि आइतवार ह्वात्तै बढेर ऐतिहासिक उचाइमा पुगेको नेप्सेले सोमबार थप उचाइ लिएर नयाँ रेकर्ड राखेको थियो । सोमवार २० अंकले बढेको बजारमा नेप्से सूचकले नयाँ ऐतिहासिक उचाईको रेकर्ड बनाउँदै २७५९ बिन्दुमा पुगेको थियो । सोमवार म्युचुअल फण्डसहित २१८ कम्पनीको एक करोड ९० लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भयो । १४ कम्पनीको मूल्य स्थिर रहँदा ५६ कम्पनीको मूल्य घटेको थियो भने बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको थिये । लामो समयपछि शेयरबजारमा देखिएको उत्साहले बजारमा ठूला लगानीकर्ता प्रवेश गरिएको आंकलन समेत गरिएको छ । अन्य पेशा ब्यबसाय बन्द भएपछि नयाँ लगानीकर्ताहरु समेत शेयर कारोबारतर्फ आकर्षिक भएका छन् । शेयर बजारमा क्रियाशिलहरुका लागि पनि निषेधाज्ञाले खासै असर गरेको देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?