काठमाडौं। ‘वाइल्ड कार्ड’बाट “टोकियो ओलम्पिक २०२०” मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा अभ्यासरत छन्। अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरुको लक्ष्य ओलम्पिक सहभागिता रहेको छ।
काठमाडौं उपत्यकामा उच्च गतिमा फैलिरहेको कोरोनाको दोस्रो लहरको माझ पनि कराँते खेलाडीले स्वास्थ मापदण्ड पूर्ण रुपमा पालना गर्दै तयारीलाई तीब्रता दिइरहेका छन्। अनु अधिकारी र नविन रसाईली ‘वाइल्ड कार्ड’मार्फत सहभागिता जनाउने लक्ष्यका साथ कठोर मेहनत गरिरहेका छन्। खेलाडीलाई अभ्यास दिइरहेका कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले महामारीकाबीच पनि खेलाडीहरु अभ्यासमा जुटिरहेको बताए।
नेपाली कराँतेले इतिहास रचेको सबैमा सर्वविदितै छ। ‘वाइल्ड कार्ड’बाट यस खेलको ढोका खोल्ने लक्ष्य लिएर जापानमा हुने ओलम्पिकका लागि खेलाडीहरुले अभ्यासलाई चुस्त राखेका छन्। कोरोनाकै कारण टोकियो ओलम्पिक एक वर्षका लागि धकेलिए पनि तयारी गरिरहेका खेलाडीमा महामारीले अन्योल छाएको छ। नेपाली खेलाडीमा पनि त्यसको असर देखियो अनि अभ्यास केही समय स्थगित पनि भयो । तर सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेललाई पूर्ण रुपमा स्वास्थ मापदण्ड पालना गदै अभ्यासको अनुमति दिएसँगै नेपाली खेलाडी पनि अभ्यासमा व्यस्त भएका हुन्। तयारीमा रहेका खेलाडीलाई पारिवारिक रुपमा स्वास्थ्य मापदण्ड अपनाएर अभ्यासलाई निरन्तरता दिन निर्देशन दिएको प्रशिक्षक श्रेठले बताए।
कुनै राष्ट्रले ओलम्पिक खेलमा भाग लिन माथिल्लो तहको खेलाडीहरु उत्पादन गर्न नसकेको खण्डमा त्यस्ता राष्ट्रलाई ओलम्पिक समितिले ‘वाइल्ड कार्ड’ प्रवेश प्रदान गर्ने गरेको छ। तर टोकियो ओलम्पिक आयोजना हुने नहुने अझै अनिश्चित छ। विभिन्न स्तरमा प्रतियोगिता रोकिने चर्चा चलिरहेका छन् भने आयोजकले स्वास्थ मापदण्डलाई कठोर रुपमा पालना गर्दै प्रतियोगिता सम्पन्न गर्ने जनाइरहेको छ। अन्योलबीच खेलाडीको मनोबललाई उच्च राख्नका लागि अभ्यासलाई निरन्तरता दिइरहेको कुरा पनि प्रशिक्षक श्रेष्ठले जानकारी गराए।
ओलम्पिकका लागि नेपालबाट ‘वाइल्ड कार्ड’का लागि तयारीमा रहेका १२ खेलाडी मध्ये कराँतेका अनु अधिकारी र नविन रसाइलीले अभ्यास गरिरहँदा अन्य खेलको अभ्यास भने चुस्त हुन सकेको छैन। १२ खेलाडी ‘वाइल्ड कार्ड’को पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने ‘युनिभर्सल’ कोटामा छनोट भइसकेका छन्। स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ। अन्य खेलाडीको हकमा भने ओलम्पिक खेल अझै अनिश्चित छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया