इटालियन कपको उपाधि युभेन्टसलाई

काठमाडौं।  इटालियन कप उर्फ ‘कोपा इटालिया’को उपाधि युभेन्टसले चुमेको छ।

गए राति भएको फाइनल खेलमा एटलान्टालाई २-१ गोलले पराजित गर्दै युभेन्टसले सन् २०२०/२१ को इटालियन कप उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो। ‘मापेई स्टेडियम’मा भएको फाइनल खेलमा युभेन्टसले अग्रता लिएको थियो। डेजान कुलुसेभ्सकीले ३१औं मिनेटमा गोल गर्दै युभेन्टसलाई खेलमा अग्रता दिलाएका थिए।

तर युभेन्टसको अग्रता मात्र १० मिनेट रहन पुग्यो। रुस्लान मालिनोभ्सकीले ४१औं मिनेटमा गोल गर्दा एटलान्टा खेलमा फर्केको थियो।

पहिलो हाफको खेल १-१ को बराबरीमा टुंगिदा दोस्रो हाफ निकै रोमाञ्चक हुन पुग्यो। दोस्रो हाफमा एटलान्टाका ४ खेलाडीले पहेंलो र १ खेलाडीले रातो कार्ड समेत प्राप्त गरे। यद्यपि युभेन्टसले खेलको ७३औं मिनेटमा दोस्रो गोल थप्न पुग्यो। कुलुसेभ्सकीको पासमा चिएसाले गोल गर्दै युभेन्टसको अग्रता कायम गरेका थिए।

राफाएल टोलोयीले रातो कार्ड प्राप्त गर्दा १० खेलाडीमा सीमित भएको एटलान्टाले खेलमा अरु कुनै गोल गर्न सकेन र गत वर्षको उपविजेता युभेन्टसले यस वर्षको इटालियन कपको उपाधि उचाल्यो।

गत वर्ष नापोलीसँग फाइनलमा पराजित भएको युभेन्टसको यो १४औं इटालियन कप उपाधि हो। त्यस्तै घरेलु लिगमा शीर्ष ४ मा स्थान बनाउन सकस गरिरहेको युभेन्टसलाई यस उपाधिले ठूलो राहत मिलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?