काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढ्दै गएपछि त्यसको रोकथाम र नियन्त्रणमा लाग्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभापति देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै नेपालमा कोरोना संक्रमणको भयावह स्थिति आउनुमा सरकार जिम्मेवार रहेको भन्दै राज्यको साधन स्रोत परिचालन गर्न सरकारसँग माग गरेका छन् ।
आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाली कांग्रेसको प्रतिनिधिसहित उपस्थित भएका देउवाले सरकारको ध्यानाकर्षण गराउँदै पत्र बुझाएका हुन् ।
सभापति देउवाले सरकारले कोरोना रोकथाम तथा नियमन्त्रणका लागि कांग्रेस लगायत अन्य सरोकारवाला निकायले दिएको सल्लाह सुझाव समेत नलिएको आरोप लगाएका छन् । त्यस्तै कोरोना महामारीको पहिलो चरणमा देखिएको चरम भ्रष्ट्राचार, दुरुपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिएको भन्दै पत्रमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, संवेदनहीनता र अर्कमण्यता जिम्मेवार छ । सरकार न विगतका गल्तीबाट सिक्छ, न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सुझाव र सल्लाहलाई आत्मसात गर्छ । स्वास्थ्य मन्त्रालयमा पूर्वाग्रही किसिमले प्राविधिक स्वास्थ्य सचिवको स्थान खाली राखिएको छ र स्वास्थ्य मन्त्रालयको प्रभावकारितालाई कमजोर गरिएको छ । कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको छ । कोभिड-१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरुपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको छ ।’ सभापति देउवाले लेखिएको पत्रमा भनिएको छ ।
राज्यसँग भएको स्रोत साधन तत्काल उचित रुपले परिचालन गर्दै कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्नका लागि समेत आग्रह गरेका छन् ।
नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट समेत देखिएको अवस्थामा सरकारलाई वृहत कार्ययोजना सहित काम गर्न सरकारसँग आग्रह गरेका छन् ।
सभापति देउवाले भने- ‘नेपाली कांग्रेस जनताको दुःख कम गर्न पहिलो चरणको संक्रमणको बेलामा जस्तै अहिले पनि सक्रिय छ । तर सरकारसँग राज्यको साधन, स्रोत र संयन्त्र छ । हामीले त्यसको पूर्ति गर्न सक्ने कुरा भएन । यो अवस्थामा हामी फेरि पनि सरकारलाई यो संकटलाई रोक्न गम्भीर भएर काम गर्न माग गर्दछौं । नेपाली कांग्रेस कोभिड-१९ को संक्रमण रोकथाम र उपचारका लागि वृहत कार्ययोजना सहित निम्न कार्य गर्न सम्माननीय प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया