काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशको राष्ट्रिय सभा निर्वाचनको आचारसंहित उल्लंघन गरेको भन्दै कारबाहीको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निर्वाचन आयोग पुगेको छ ।
बुधवार बसेको कांग्रेसको संसदीय दलको बैठकले एमाले अध्यक्षको हैसियतामा प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै बिहीवार निर्वाचन आयोगमा उजुरी दिएको छ ।
आज बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगले जेठ ३ गते राती १२ बजेबाट कुनैपनि माध्यमबाट उम्मेद्वारहरुलाई मत माग्न नहुने भन्दै विज्ञप्ति जारी गरेको थियो । तर प्रधानमन्त्री ओलीले बुधवार एक विज्ञप्ति जारी गर्दै एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई मत दिन अपील गरेका थिए । बुधवार नै निर्वाचन आयोगले त्यसको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।
‘सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नेकपा एमाले पार्टीको अध्यक्षको हैसियतले र माननीय शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपील मार्फत मौन अवधिमा आफ्ना उम्मेद्वारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको छ ।’ उजुरीमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता पालना गर्नु सबैको साझा कर्तव्य हो र स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गर्नु सरकारको दायित्व हो । आचारसंहिता विपरित सरकार प्रमुखले नै अमुक उम्मेद्वारलाई नै विजय गराउन मतदाताहरुलाई अपील गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरित हो । ‘
त्यस्तै कांग्रेसले निर्वाचन आयोगको आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) अनुसार कारबाहीको माग गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया