पीएसएलका बाँकि खेल युएईमा

काठमाडौं। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकि खेल युएईको राजधानी अबु-धाबीमा सञ्चालन गर्ने अनुमति पाएको छ।

गत मार्चमा टिम र सदस्यमा देखिएको बढ्दो कोरोना आक्रान्तका कारण पीएसएलको छैटौं संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको थियो। कराँचीमा ७ सदस्यमा कोरोना पुष्टि भएको थियो, जसमध्ये ६ खेलाडी कोरोनाको शिकार बनेका थिए। जसको कारण पीएसएललाई स्थगित गर्नु परेको थियो।

यस संस्करणको पीएसएलमा २० खेल खेल्न बाँकि छन्। फ्रेन्चाइज टिमहरुले पीसीबीलाई बाँकि रहेका खेल युएईमा आयोजना गर्न अनुरोध गरेपछि, पीसीबीले युएई सरकारको अनुमति लिएको हो।

तर पीएसएलको मिति तथा तालिका बारे केही पनि निश्चित भएको छैन। पीएसएल यही जुन १ तारीखदेखि पुनः सुचारु हुने सम्भावना भने देखिएको छ।

पीएसएलमा जम्मा ६ टोली छन् जसलाई अबु-धाबीका ३ होटलमा राखिने छन्। ७ दिन क्वारेन्टाइन पश्चात हरेक होटलमा २-२ टोली राखिने निर्णय बारे पीएसएल र युएई सरकारको सम्झौता भएको छ।

पीएसएलको छैटौं संस्करणमा अहिलेसम्म कराँची किङ्स शीर्ष स्थानमा रहेको छ। ६ अंकका साथ शीर्ष स्थान ओगटेको कराँचीले पेशावर जालमी र इस्लामावाद युनाइटेडसँग अंक बाँडेको छ। तर ‘नेट रनरेट’को हिसाबले कराँची शीर्ष स्थानमा रहेको हो।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?