१२ सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपतिलाई जसपाको पत्र

काठमाडौं । विपक्षी गठबन्धन सरकार गठनमा हस्ताक्षर गर्ने १२ सांसदलाई मान्यता नदिन जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पत्र पठाएको छ ।

जसपाका संसदीय दलको नेता राजेन्द्र महतोको नामबाट आज नेपाली कांग्रेसको नेतृत्वमा गठन हुन लागेको गठबन्धन सरकारलाई सहयोग गरेका सांसदहरुलाई मान्यता नदिन आग्रह गरिएको छ ।

ती सांसदहरुलाई पार्टीले कारवाहीको प्रक्रिया अघि बढाइएको भन्दै उक्त हस्ताक्षरलाई मान्यता नदिन आग्रह गर्दै जसपाको ठाकुर पक्षले पत्र पठाएको हो ।

राष्ट्रपति भण्डारीको आह्वान अनुसार बन्न लागेको गठबन्धन सरकारलाई सहयोग गर्दै जसपाका १२ सांसदहरुले हस्ताक्षर बुझाएका थिए । भने प्रधानमन्त्री ओलीले पनि आफूसँग १२१ एमालेका सांसद र ३२ जना जसपाका सांसद गरी कुल १५३ सांसद रहेको दाबी पेश गरेका थिए ।

त्यस्तै यता माधवकुमार नेपाल पक्षका २७ जना सांसदहरुले गठबन्धन सरकार गठनका लागि हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका थिए । तर ७ जना सांसदहरुले त्यसको विरोध जनाउँदै आफ्नो नाम हटाउन आग्रह गरेका छन् । र बाँकी रहेका सांसदहरुलाई कारबाही गरिने भन्दै एमालेले समेत ती सांसदको हस्ताक्षरलाई मान्यता नदिनका लागि आग्रह गर्दै राष्ट्रपति कार्यालयलाई पत्र लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?