काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनका विरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने निर्णय गरेको छ ।
आज कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले त्यस्तो निर्णय गरेको हो ।
लोकपथसँग त्यसबारेमा कुरा गर्दै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले त्यसलाई घोर भर्त्सना गरेको र कानुनी र राजनीतिक उपचारमा जाने निर्णय गरेको बताए ।
‘त्यो प्रतिगमनको नेपाली कांग्रेस पार्टीले घोर भर्त्सना र निन्दा गरेको छ । साथै त्यसको विरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय आजको बैठकले गरेको छ ।’ डा. महतले भने ।
शुक्रवार राति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरि मध्यावधी निर्वाचनको घोषणा गरेकी थिइन् । यो दोस्रो पटकको संसद विघटन हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीेको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद विघटन गरेकी थिइन् । जसलाई सर्वोच्च अदालतले फागुन ११ गते उल्ट्याइदिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया