निषेधाज्ञा कडा बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञालाई थप कडा बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गरी निषेधाज्ञालाई थप कडा बनाउन निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानले शनिबार तीन वटै सुरक्षा निकायका प्रमुख र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञालाई थप कडा बनाउन निर्देशन दिएका हुन् ।

गृहसचिव न्योपानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई गृह मन्त्रालयमै बोलाएर निर्देशन दिएका हुन् भने प्रजिअहरुलाई परिपत्र गरी निषेधाज्ञा कडा बनाउन निर्देशन दिएका हुन् ।

निषेधाज्ञाको पालना नगर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गर्ने जनाईएको छ । अध्यादेशमा अनुमति विना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएमा कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तै मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?