काठमाडौं। स्पेनिश ला-लिगा अन्तर्गत एथ्लेटिको मड्रिडले सन् २०२०/२१ सिजनको उपाधि जितेको छ। एथ्लेटिको मड्रिडले रियल भ्यालाडोलिडलाई अन्तिम चरणको खेलमा पराजित गर्दै आफ्नो ११औं उपाधि जितेको हो।
डिएगो सिमियोनेको प्रशिक्षणमा रहेको एथ्लेटिकोले गए राति भ्यालाडोलिडलाई २-१ गोलले पराजित गर्दै सन् २०१३/१४ पछिको पहिलो उपाधि जितेको हो। २५ वर्षको अन्तरालमा एथ्लेटिकोको यो मात्र तेस्रो उपाधि हो।
यस्तै गत वर्षको विजेता रियल मड्रिडले पनि आफ्नो अन्तिम खेलमा भिल्लारियलविरुद्ध उत्कृष्ट पुनरागमन जित निकालेको थियो। आफ्नो अन्तिम खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गरेको रियल दोस्रो स्थानमा रहन पुग्यो।
त्यस्तै रेलिगेसनमा परेको इबारलाई पराजित गर्दै बार्सिलोनाले तेस्रो स्थानमा चित्त बुझायो। सेभिया, जसले आईतवार आफ्नो अन्तिम खेल खेल्दै छ, चौथौं स्थानमा पक्का देखिएको छ।
एथ्लेटिकोसँग दुई लिग उपाधि जित्ने सीमियोने तेस्रो प्रशिक्षक बनेका छन्। यसअघि रिकार्डो जमोरा र हेलेनियो हरेराले यो कीर्तिमान रचेका थिए।
एथ्लेटिकोसँग हारको नतिजा बेहोरेको भ्यालाडोलिड भने यस वर्ष ला-लिगाबाट रेलिगेट भएको छ।
१८औं मिनेटमा नै खेलमा पछि परेको एथ्लेटिकोले दोस्रो हाफमा कमब्याक गरेको थियो। एथ्लेटिकोले कमब्याक गर्ने क्रममा बार्सिलोनाका पूर्व स्ट्राइकर लुइस सुआरेजले विजयी गोल गरेका थिए।
यसै वर्ष बार्सिलोनाबाट एथ्लेटिको मड्रिड आएका सुआरेज एथ्लेटिकोका लागि सर्वाधिक गोलकर्ता पनि भएका छन्। उनले ३२ खेलमा २१ लिग गोल गरे। ३४ वर्षीय सुआरेजको यो ५औं लिग उपाधि हो। बार्सिलोनाबाट उनलाई उमेरकै कारण निकालिएको थियो, र उनले एथ्लेटिकोलाई लिग जिताएर बार्सिलोनाको निर्णयमा ठूलो प्रश्न चिन्ह पनि लगाइदिएका छन्।
यसै गरी रियल मड्रिडका पूर्व मिडफिल्डर मार्कोस लोरेन्टे पनि एथ्लेटिको मड्रिडको यस सफलतामा महत्वपूर्ण पात्र बनेका छन्। १२ गोल र ११ असिस्टको योगदान गरेका लोरेन्टे, डिएगो फोर्लान पछि एथ्लेटिकोका लागि दोहोरो नम्बरमा गोल र अस्सिस्टको योगदान दिने पहिलो खेलाडि बनेका छन्। फोर्लानले यो सन् २००९ मा हासिल गरेको सफलता थियो।
यसैगरि सन् २००४ यता रियल र बार्सा बाहेक स्पेनिश ला-लिगा उपाधि चुम्ने एथ्लेटिको एकमात्र टोली हो। सन् २००३/०४ मा भ्यालेन्सियाले उपाधि जितेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया