कमला अर्याल ।काठमाडौं-
पछिल्लो समय कोरोना संक्रमितका लागि आवस्यक पर्ने औषधि अभाव हुन थालेको छ ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि मुलुकका विभिन्न स्थानहरुमा औषधिको अभाव हुन थालेको हो । अहिले बजारमा कोरोनाका बिरामीलाई अत्यावश्यक सिटामोला(पारासिटामोल) मेरोपेनम, लिभोफ्लोक्सासनि, हेपारनि जस्ता औषधिहरु अभाव हुन थालेका हुन् ।
यी औषधिहरुले रगतमा संक्रमण कम गर्ने काम गर्छन् । त्यसका साथै यी औषधिहरुले निमोनिया हुनबाट समेत बचाउँछन् । यस्ता औषधिको अभाव हुन थालेको चिकित्सकहरुले बताउन थालेका छन् । त्यसका साथै कोरोनाका बिरामीहरुलाई आवश्यक पर्ने भिटामिन सी, भिटामिन ई,डेक्सामेथासोन,रेम्दीसिभिरि,जिङ्क लगायतका औषधिको पनि बजारमा अभाव हुन थालेको छ ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि बजारमा अक्सिजन,बेड,भेन्टिलेटर,लगायतको अभाव भइरहेका बेला औषधि समेत अभाव हुँदा सर्वसाधारण मारमा परेका छन् । अहिले काठमाडौं लगायत पश्चिमी क्षेत्रमा औषधीको अभाव हुन थालेको छ । जसले गर्दा उपचारमा समेत असहज भएको छ ।
कोरोना संक्रमण एकैचोटी बढेकाले माग पनि सोही रुपमा बढेका कारण अहिले औषधिको अभाव भएको औषधि उद्योगी उमेशलाल श्रेष्ठ बताउँछन् । संक्रमितले मात्रै नभएर पछि अभाव हुन सक्ने आँकलन गर्दै सर्वसाधारणले औषधी स्टकमा राख्ने गरेकाले पनि अभाव भएको श्रेष्ठको भनाई छ । औषधिको चरम अभाव हुन नदिन माग अनुसार नै उत्पादन गर्दै आएको उनले बताए । अहिले व्यवसायीसँग ३ महिनालाई धान्ने औषधि स्टक छ । त्यसका साथै अभाव हुन नदिन माग अनुसार उत्पादन गर्दै आइरहेको श्रेष्ठले बताए ।
त्यस्तै,नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठले अहिले केही मात्रामा औषधिको अभाव देखिन थालेको बताए । “आईसीयू ,सीसीयूमा र लाइफसेभिङ इन्जेक्शनहरुमा अभाव भएको देखिएको छ,”उनले भने । यस्तो अवस्थाका कारण उपचारमा समस्या भइरहेको उनले बताए । पहिलेको तुलनामा औषधिको माग चार गुणा बढेकाले अभाव भएको अध्यक्ष श्रेष्ठको भनाई छ । बाहिरबाट आउने औषधिमा निर्यातको राम्रो व्यवस्थाका कारण समस्या नहुने उनको दावी उनले बताए ।
औषधि अभाव हुनुमा ढुवानीका कारण पनि समस्या भएको अध्यक्ष श्रेष्ठको भनाई छ । अक्सिजनको जस्तो समस्या आउने गरी औषधिको अभाव हुन नदिने उनको दावी छ । कोरोना संक्रमण बढेसँगै नेपाल औषधी व्यवसायी संघले सातै प्रदेशमा कोभिड–१९ व्यवस्थापन उप समिति गठन गरेको र त्यसले औषधिको व्यवस्थापन समेत गर्ने श्रेष्ठले बताए ।
प्यारासिटामोल,भिटामिन सी लगायत अन्य औषधीहरु स्वदेशी कम्पनीहरुले उत्पादन गर्दै आएका छन् । अभाव हुने बित्तिकै स्वदेशी उद्योगहरुले उत्पादन बढाइहाल्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै जाँदा सक्रमितको संख्या पनि तीब्र रुपमा बढिरहेको छ । जसका कारण मुलुकभरीका अस्पतालहरु भरिभराउ छन् । अस्पतालमा बेड नहुँदा संक्रमितहरु घरघरमा आइशोलेसनमा बस्न बाध्य छन् । घरमा आइशोलेसनमा बस्नेहरुले औषधि प्रयोग गरिरहेका छन् । त्यसका साथै अलि अलि लक्षण देखिएका तर पिसिआर परिक्षण नगरेकाहरुले पनि यी औषधिहरु खाने गरेका छन् । जसका कारण औषधिको अभाव भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया