प्रिमियर लिग विजेता सिटीका लागि अगुवेरो अन्तिम पटक बने “हिरो”, ‘पेप’ले भने उनी बार्सिलोना जाँदै छन्

काठमाडौं। इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राति खेलिएको अन्तिम चरणको खेलमा विजेता म्यानचेष्टर सिटीले एभरटनलाई ५-० गोल अन्तरले पराजित गरेको छ।

तीन खेल अगावै लिग जितिसकेको सिटीका लागि अन्तिम खेलमा सर्जियो अगुवेरोले दुई गोल गरे। अगुवेरोको यो सिटीको लागि अन्तिम खेल थियो।

१० वर्ष अघि एथ्लेटिको मड्रिडबाट म्यानचेष्टर सिटी आएका अगुवेरोले सिटीका लागि ३८९ खेल खेल्दै २६० गोल गरेका छन्। उनको २६० गोल संख्या क्लब कीर्तिमान पनि रहेको छ।

सिटीका मात्र नभई प्रिमियर लिगकै ‘लेजेन्ड’ भनेर प्रख्यात नाम अगुवेरोले आफ्नो अन्तिम खेल बेन्चबाट शुरू गरेका थिए। उनी दोस्रो हाफको ६५औं मिनेटमा मैदान प्रवेश गर्दा सिटीले एभरटनमाथि ३-० गोलको अग्रता बनाएको अवस्था थियो। अगुवेरोले मैदान प्रवेश गर्नासाथ गोल गरे, र ५ मिनेटको अन्तरालमा अर्को गोल थपे।

यसअघि सिटीका लागि २५८ गोल गरेका अगुवेरोले आफ्नो अन्तिम खेलको २० मिनेटको दौरानमा गोल संख्या २६० बनाएका हुन्।

 

३२ वर्षीय अर्जेन्टिनी स्ट्राइकर अगुवेरो प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने पहिलो ‘नन इंग्लिश’ खेलाडी पनि हुन्। प्रिमियर लिगमै अगुवेरो भन्दा बेसी गोल एलेन शियरर र वेन रुनीले मात्र गरेका छन्।

अगुवेरोले सिटीसँग १५ उपाधि जितेका छन्। जसमध्ये ५ प्रिमियर लिग उपाधि रहेका छन्। सन् २०११/१२ सिजनमा उनको ‘क्यू.पी.आर.’विरुद्ध अन्तिम सेकेन्डको गोलले सिटीलाई पहिलो पटक इंग्लिश प्रिमियर लिगको उपाधि प्राप्त भएको थियो।

अगुवेरोले सन् २०१४/१५ मा ‘गोल्डेन बुट’ पनि जितेका थिए। उनी सन् २०११/१२ र २०१४/१५ मा सिटीका ‘प्लेयर अफ द इयर’ पनि घोषित भएका थिए।

यसै बिच सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डियोलाले अगुवेरोको नयाँ गन्तव्य क्लब बारे खुलासा गरेका छन्। आफ्नो तेस्रो प्रिमियर लिग जितेका प्रशिक्षक पेपले अगुवेरोको विदाईमा भावुक हुँदै उनको कमी महसूस हुने बताएका छन्। त्यस्तै उनले भने, “म एउटा सिक्रेट भन्दै छु, अगुवेरो बार्सिलोना जाँदै छन्।” उनले थपे, “मेरो मुटुमा बसेको क्लब बार्सिलोनामा अगुवेरो विश्वकै उत्कृष्ट खेलाडी मेस्सीसँग खेल्ने छन्। अगुवेरोले मेरो क्लब बार्सिलोनालाई अझै उचाईमा पुर्याउनेछन्”, उनले थपे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?