टेकसिंह धामी / धनगढी । नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारबाट एमालेका मन्त्रीलाई फिर्ता बोलाइने बताएका छन् ।
अध्यक्ष थापाले माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमालेका तीन जना मन्त्रीलाई फिर्ता बोलाइने बताएका हुन् ।
‘सुदूरपश्चिम प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो,’ उनले भने, ‘आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि अहिलेको मन्त्रिमण्डलमा रहेका एमालेका तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय प्रदेश कमिटीले गरिसकेको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
अध्यक्ष थाापका अनुसार गत चैत १५ गते नै नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया