काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने तयारी गरिदैँछ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । कोरोना संक्रमणलाई रोक्नका लागि उपत्यकामा निषेधाज्ञा लगाइएको हो । कोरोना संक्रमणको दर दिन प्रतिदिन बढेसँगै निषेधाज्ञालाई पनि थप गर्न लागिएको छ । हाल जेठ १३ गतेसम्मलाई निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको सम्बन्धमा थप निर्णय गर्नका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो बस्ने गरी तयारी गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
निषेधाज्ञालाई थप कडाई गरिने जनाईएको छ । अबको निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा रहेका व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने पनि बताइएको छ ।
अध्यादेशको व्यवस्था अनुसार निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैदसम्मको व्यवस्था छ । अध्यादेशको उल्लंघन गर्नेविरुद्ध छ महिनासम्म कैद र तीनलाखसम्म जरिवानाको व्यवस्था गरेको छ । त्यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक एक सय रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिँडडुल गर्दा प्रत्येक पटक दुई सय रुपैयाँ, अनुमति विना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा दुई सय रुपैयाँ र चार पांग्रेको हकमा पाँच सय रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था रहेको छ ।
निषेधाज्ञालाई थप व्यवस्थित गर्ने तयारी गरिएको पनि काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया