धनगढी । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक शुरु भएको छ । दलको कार्यालयका शुरु बैठकमा सभामुख बाहेकका २४ जना सांसद मध्ये बैठकमा २१ सांसद उपस्थित भएको सांसद अमर साउँदले बताए ।
बैठकमा ओली पक्षका ३ सांसद उपस्थित भएका छन् । बैठकमा नेपालु चौधरी, पठानसिंह बोहरा र माया तामाङ बोहरा उपस्थित भएका हुन् । अन्य तीन सांसद कैलाली भन्दा बाहिर रहेकाले उपस्थित नहुने बताइएको छ । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।
सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ ।
स्थायी कमिटीको बैठक पछि बस्न लागेको दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्थायी कमिटीले सरकारका समर्थन फिर्ता लिने निर्णय गरे पनि एमाले संसदीय दलमा नेपाल पक्षले यस सरकारलाई निरन्तरता दिने सम्भावना देखिएको छ। ओली पक्षले भने केन्द्रको निर्देशन अनुसार सरकारबाट फिर्ता हुनुपर्ने र मन्त्रीहरूले राजीनामा दिनुपर्ने दबाब दिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया