काठमाडौं। नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आगामी ‘जुन ९’ तारीखबाट शुरू हुने “भैटालिटी टी-ट्वेन्टी ब्लास्ट” लिग खेल्न बेलायत जाने कार्यक्रम रहेको छ।
तर भिसाको केही टुङ्गो नलाग्दा उनको प्रतियोगितामा भाग लिने कुरा समेत अन्योलमा परेको छ। करिब १ महिना बितिसक्दा पनि बेलायती दुतावासबाट भिसा सम्बन्धी केही जानकारी नआउँदा सन्दीप चिन्तित देखिन्छन्।
आफ्नो चिन्ता ‘ट्वीट’मार्फत जानकारी दिँदै उनले कोरोना महामारीको अनुकूल समयमा पनि खेलाडीहरुले सबैलाई खेल मार्फत मनोरञ्जन प्रदान गर्न सक्दो मेहेनत गरेको कुरा व्यक्त गरे। उनले बारम्बार फोन गर्दा पनि दूतावासबाट केहि पक्का खबर नआएको कुराले प्रतियोगिता नै गुमाउन सक्ने जानकारी दिएका छन्।
नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, बेलायती राजदूत तथा बेलायती दुतावासलाई ‘ट्याग’ गर्दै उनले गरेको ‘ट्वीट’ले सारा नेपालीलाई नै खिन्न बनाएको छ।
यसै जुलाई २२ तारीखबाट शुरू हुने ‘द हन्ड्रेड’ नामक ग्लोबल क्रिकेट टुर्नामेन्टका लागि पनि सन्दीप छानिएका छन्। सन्दीपले ‘ओभल इन्विन्सिबल्स’बाट ‘द हन्ड्रेड’ खेल्ने पक्का भएको थियो। अन्तराष्ट्रिय खेलाडी स्याम करन, टम करन, जेसन रय, स्याम बिलिङ्स र सुनिल नराइन जस्ता खेलाडी समिलित ओभल को टोलीमा सन्दीप पनि पर्न सफल भएका थिए।
त्यस्तै ‘भैटालिटी ब्लास्ट’का लागि सन्दीप ‘वरचेस्टरशायर रेपिड्स’बाट खेल्ने पक्का भएको थियो। दुई महत्वपूर्ण तथा प्रख्यात प्रतियोगिता भिसाका कारण गुमाउनु सन्दीप लगायत सम्पूर्ण नेपालीलाई निकै दुःखको विषय हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया