काठमाडौं । नेपाली कांगेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेकोे आरोप लगाएको छ ।
बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्डमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । आफ्ना असंबैधानिक कदमलाई बैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ ।
बैठकपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सहमहामन्त्री प्रकाशशरण महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोसिसमा सरकार अघि बढेको बताए । उनले कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भत्र्सना गरेको बताए ।
उनले भने “सरकार कोभिड संक्रमलाई रोकथाम गर्न भन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ । जनतामा आतंक फैलाउन खोज्दै छ । २ दिन भित्र किनमेल गर भन्ने किसिमका कुराहरु गर्दैछ । सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चितता संगै दुर्गम गाउँ गाउँमा पिसिआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पछि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोशिस सरकारबाट भईरहेको छ । यसको घोर भत्र्सना गरेका छौ । कोभिड महामारीलाई कम गर्नको लागि सार्थक काम गर्न सरकार केन्द्रीत छैन । यो आडमा आफ्नो सत्ता बचाउनका लागि जनतामा आतंक फैलाउने काममा मात्रै सरकार केन्द्रीत छ । ”
महामारीमा जनताको दैनिकी असहज भईरहेका बेला सहयोगी भुमिका निर्वाह गर्नुभन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अबैधानिक बाटोलाई बैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवंम् भत्र्सना गरेको नेता महतले जानकारी दिए । कांग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरुको ज्यान गईरहेको तथा दुर्गम लगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रीत हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले संञ्चार, सामाजिक सञ्जाल, नागरिक समाज लगायत मार्फत निरन्तर रुपमा राष्ट्रपति र सरकारको असंबैधानिक कदम विरुद्ध लाग्नुको साथै कानूनी र राजनीतिक लडाईलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।
केहीदिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड १९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधरणको दैनिकीलाई सहज बनाउनका लागि राहत लगाएतको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया