कथित परिवर्तनका संवाहकको मनपरीले संविधान र लोकतन्त्र संकटग्रस्त भयो : अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति समशेर राणाले कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले संविधान र लोकतन्त्र संकटग्रस्त भएको बताएका छन् ।

त्यसैगरी राप्रपा अध्यक्ष राणाले सबै मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव र एकता कायम राख्नु पर्ने बताएका छन् । वैशाख ११ तर्फ फर्केर १२ बुँदे सहमतिको जडबाट दीर्घ समाधान खोज्नु पर्नेमा उनले जोड दिएका छन् ।

सामान्य टालटुल र ढाकछोपले विद्यमान संकट समाधान नहुने उनको भनाइ छ ।

‘कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले राज्यव्यवस्थाप्रति जनताको विश्वास टुटेको छ,’ बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राणाले बुधवार भने ।

‘आफूलाई विधीभन्दा माथि राख्ने प्रवृतिले संविधान, लोकतन्त्र संकटमा छ । टालटुल, ढाकछोप समाधान होइन । यसर्थ वैशाख ११ तर्फ फर्केर १२ बुँदेकै जडबाट दीर्घ समाधान खोज्नु जरुरी छ ।’

शान्तिका अग्रदुत बुद्धको शरणमा सम्राट अशोकले शान्ति, सौर्य प्राप्त गरेको दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘कलिंगाको युद्धबाट अशोकको मन परिवर्तन भएझैं बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा अहम, आग्रह त्याग्ने, सबै नेपाली मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव, एकता कायम गर्ने ज्ञान प्राप्त होस् । मंगलमय शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?