सुदूरपश्चिमका ३ मन्त्रीले २४ घण्टे स्पष्टीकरण पेश गर्ने, छोड्लान त सरकार ?

लोकपथ
84
Shares

धनगढी । सुदूरपश्चिम सरकारका तीन मन्त्रीले स्पष्टीकरण दिने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी केन्द्रको निर्णयको बर्खिलाप गएको भन्दै स्पष्टीकरण सोधिएकोमा मन्त्रीले स्पष्टीकरण पेश गर्ने भएका हुन्।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले अहिलेसम्म आधिकारिक जानकारी आइनपुगेकोले स्पष्टीकरण बारे आन्तरिक छलफल भइरहेको जानकारी दिइन्।

‘स्पष्टीकरण सोध्यो भने दिनुपर्छ।’ उनले भनिन्, ‘हामी स्पष्टिकरण दिन्छौ । त्यसबारे हामी नेता तथा मन्त्रीहरुबिच छलफल पनि गर्छौं। अहिलेसम्म कुनै आधिकारिक पत्र तथा जानकारी नपुगेकाले यसबारे कुनै निर्क्यौल भएको छैन। तर संसदिय दलको निर्णय भने फिर्ता हुदैन।’ अहिलेको सरकारबाट बाहिरिने सम्भावना नरहेको उनको भनाइ छ।

नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको निर्णय र सुदूरपश्चिम प्रदेश कमिटीको निर्देशनको विपक्षमा सुदूरपश्चिमको संसदीय दलले निर्णय गरेसंगै सुदूरपश्चिमको राजनीति‌समेत तरंगित भएको छ। नेकपा एमालेका दुई स्पष्ट धार देखिएका छन्। ओली पक्ष र माधव पक्षविचको विवाद चुलिएको छ ।

एमालेको प्रदेश कमिटीले सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातारणमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

स्थायी कमिटीको निर्णय र प्रदेश कमिटीको निर्देशन विपरीत संसदीय दलले निर्णय गरेपछि सुदूरपश्चिम तीन जना मन्त्रीलाई प्रदेश कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

पार्टी केन्द्रको निर्देशनविपरीत निर्णय गरेको भन्दै तीनै मन्त्रीलाई एमाले सुदूरपश्चिमले छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो। २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न प्रदेश कमिटिले निर्देशित गरेको छ।

सुदूरपश्चिम एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत छ भने अहिले स्पष्टीकरण सोधिएका तीनै जना मन्त्री माधव नेपाल पक्षीय हुन्।

सुदूरपश्चिम प्रदेश सभामा सभामुख सहित एमालेका २५ जना सदस्य छन्। उनीहरुमध्ये वरिष्ठ नेता माधव नेपाल पक्षका १८ र ओली पक्षका ६ जना छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?