आन्द्रे पिर्लोले छाडे युभेन्टस, एलेग्री पुन: मुख्य प्रशिक्षक बन्ने सम्भावना बलियो

काठमाडौं।  इटालियन क्लब युभेन्टसले मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बिदावारी गरेको छ।

यसै सिजन युभेन्टसको प्रशिक्षणको जिम्मेवारी लिएका पिर्लोको स्थानमा क्लबका पूर्व प्रशिक्षक मास्सीमिलानो एलेग्री फिर्ता आउने लगभग तय भएको छ।

यस सिजन युभेन्टसले ‘सिरी-ए’मा सोचेजस्तो प्रदर्शन गर्न सकेन र ९ वर्ष देखि लगातार जितेको ‘सिरी-ए’को उपाधि इन्टर मिलानले जित्यो। पिर्लोले युभेन्टससँग इटालियन कपको उपाधि जिते पनि क्लबले उनीसंगको यात्रा टुंग्याउने निर्णय गरेको छ।

‘सिरी-ए’को अन्तिम खेलमा जित निकाल्दै चौथौं स्थानमा उक्लिन सफल भएपनि युभेन्टस अर्को सिजन च्याम्पियन्स लिग खेल्न योग्य छ छैन भन्ने कुराको निर्णय ‘युईएफए’ले गर्नेछ। प्रस्तावित ‘युरोपियन सुपर लिग’बाट आफ्नो नाम फिर्ता नलिएको युभेन्टस लिगको अंक तालिकाको हिसाबमा च्याम्पियन लिग खेल्न भने योग्य छ।

आफ्नो औपचारिक विज्ञप्तीमा क्लबले पिर्लोलाई धन्यवाद व्यक्त गर्दै उनको साहस र आत्मविश्वासको कदर गरेको उल्लेख गरेको छ। त्यस्तै आगामी दिनमा उनको सफलता र खुशीयालीको कामना गर्दै क्लबले पिर्लोसँग यात्रा टुंग्याएको समाचार सार्वजनिक गरेको हो।

पिर्लोको स्थानमा युभेन्टसका पूर्व प्रशिक्षक एलेग्री पुनः फर्किने लगभग निश्चित भएको छ। दुई वर्ष अघि क्लब छाडेका एलेग्रीले त्यस पश्चात कुनै क्लबमा प्रशिक्षणको जिम्मेवारी उठाएका छैनन्।

एलेग्रीको प्रशिक्षणमा युभेन्टसले लगातार ५ ‘सिरी-ए’ उपाधि जितेको थियो। त्यस्तै ५३ वर्षीय एलेग्रीकै प्रशिक्षणमा युभेन्टसले सन् २०१४/१५ र सन् २०१७/१८ को च्याम्पियन्स लिग फाइनलसम्मको यात्रा पनि तय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?