काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले आज, (शनिवार) इराकसगं मैत्रीपूर्ण खेल खेल्दै छ।
इराकको ‘बास्रा’ सहरमा दुई टोली बिचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे ‘अल्फायदा स्टेडियम’मा खेलिने छ।
सन् २००१ पछि पहिलो पटक यी दुई राष्ट्र भिड्दा फिफा वरियतामा नेपाल भन्दा इराक १०३ स्थान माथि रहेको छ। १७१औं स्थानमा नेपाल रहेको छ भने इराक ६८औं स्थानमा बलियो रहेको छ।
सन् २०२२ विश्वकप फुटबलको छनोट खेल तथा एसिया कप छनोटका लागि कुवेत प्रस्थान गर्न लागेको नेपाली टोलीले पहिले इराकसँग एक मैत्रीपूर्ण खेल खेल्न लागेको हो। उता इराक पनि विश्वकप छनोट तथा एसिया कप छनोटका खेल खेल्न गइरहेको छ।
नेपाल र इराक बिच यो चौथौं भेट हो। यस अघिका ३ वटै खेल इराकको पक्षमा गएको छ। तीन खेलमा इराकले नेपालविरुद्ध कुल १६ गोल गर्न सफल भएको छ भने नेपालले जवाफमा मात्र ३ गोल फर्काएको छ।
नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यस पटक टोलीमा अप्रत्याशित परिवर्तनहरु गरेका छन्। अधिकतम खेलाडीहरु युवा वर्गका रहेको नेपाली टोलीबाट यस पटक एट्याकिङ फुटबलको अपेक्षा गर्न सकिने उनको भनाइ छ।
तर इराकविरुद्धको खेल नेपाललाई निकै नै चुनौतीपूर्ण रहनेछ। विश्वकप छनोटको समूह ‘सी’ मा रहेको इराक ५ खेलमा ११ अंकसहित शीर्ष स्थानमा छ। उसलाई पछ्याउँदै बहराइन, ईरान, हङकङ र कम्बोडिया क्रमशः दोस्रो, तेस्रो, चौथौं र पाँचौं स्थानमा रहेका छन्।
यता नेपाल भने आफ्नो समूह ‘बी’ को चौथौं स्थानमा रहेको छ। समूह ‘बी’ को शीर्ष स्थानमा अस्ट्रेलिया, दोस्रो स्थानमा कुवेत, तेस्रो स्थानमा जोर्डन रहेका छन्। यस समूहको अन्तिम स्थानमा भने चाइनिज ताइपेइ रहेको छ।
नेपालको सन् २०२२ विश्वकप खेल्ने सम्भावना एकदमै कम रहेपनि न्यून भने छैन। यस्तै एसिया कप छनोटमा उत्तीर्ण हुने सम्भावना पनि जीवित नै छ। नेपालले आउँदो ‘जुन ३’ मा चाइनिज ताइपेइ, ‘जुन ७’ मा जोर्डन र ‘जुन ११’ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ। यी सबै खेल कुवेतमा खेलिने छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया