बजेट समिक्षा गर्दै अर्थमन्त्रीको प्रतिवद्धता : ‘कार्यान्वयनमा शंका नगर्नुस्’

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८ /७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आईतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पारेका छन् ।

उनले भने “यो बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याईएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रीत हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रीत गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौ ।”

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रीत भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए । आर्थिक क्षेत्रमा देखिएका चुनौतिको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै सम्मृद्धिको सपना साकार पार्ने प्रतिवद्धता पनि उनले जनाए । उनले भोली देखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयको अभियानलाई तिब्रता दिएर अघि बढ्ने बताए ।

उनले भने, “यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन । ”

उनले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निश्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पुर्ण सामथ्र्य परिचालन गरिने बताए ।

उनले भने, “निर्वाचनलाई स्वतन्त्र निश्पक्ष ढंगले सम्पन्न गर्न सम्पुर्ण सामथ्र्य परिचालन गरिने छ । निर्वाचनका लागि यथेष्ठ महत्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ ।”

सरकारले महामारी नविर्सिएको र मुख्य चुनौतिको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको बताए । सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली जनतालाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढंगले सरकारले काम गर्ने प्रतिवद्धता जनाए । खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको स्पष्ट पारे । उनले सरकारले मतदाता प्रभावित पार्न नभई अभिभारा पुरा गर्न बजेट ल्याएको बताए ।

संवैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै उनले चुनावपछिपनि जनताको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताए । उनले बजेटले वर्तमान चुनौतिहरुलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरु पनि हासिल गर्ने प्रतिवद्धता जनाए ।

कतिपयले वर्तमन सरकारलाई पुर्ण बजेट ल्याउने अधिकार नएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उनले संविधानले गरेको प्रबन्ध अनुसार नै बजेट ल्याएको बताएका छन् ।
उनले भने, “संवैधानिक प्रवन्ध भयो भएन भनेर दुविधा राख्नुपर्ने अवस्था छैन । यो सबैधानिक प्रबन्ध अनुरुप नै आएको छ । मुलुकको आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुदैनथ्यो । त्यसैले पनि सरकारले बजेट ल्याउनुपथ्र्यो । अर्को विकल्प थिएन । यस्तो अवस्थामा कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी उपयुक्त हुन सक्तैन ।”

उनले दक्षिण एशियामा खोप प्रयोग गर्ने दोश्रो मुलुक भएजसरी नै प्रत्येक नागरिकलाई खोप दिलाउने सन्र्दभमा पनि तुलनात्मक रुपमा नेपाल अग्रपक्तिमा उभिने विश्वास दिलाए । बजेटमा नागरिकको जीवनरक्षाका लागि सम्पुर्ण स्रोत साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिवद्धताका साथ सरकार प्रस्तुत भएको उनले उल्लेख गरे ।

उनले कोभिडका विरुद्धको खोपका सम्बन्धमा असाधारण पहल कदमी लिएर खोपसेवा उपलब्ध गराउने काममा केन्द्रीत भएर लाग्ने प्रतिवद्धता पनि जनाए । उनले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि सार्वजनिक गरिएको योजना तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै नागरिकको जीवनरक्षामा केन्द्रीत हुने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?