काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल खेलमा सुधारिएको खेल देखाउने प्रयास, नेपालले शनिवार बलियो प्रतिद्वन्द्वी इराकसँग खेल खेलेर प्रमाणित गर्यो।। नतिजा सुम्पिए पनि नेपाली टोलीको प्रदर्शनलाई सबैले तारिफ गरेका छन् ।
कुवेती मुलुकका नेपालका लागि प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले टोलीले भोगेको पराजयको जिम्मा लिएका छन् । विश्वकप र एसियन कप छनोट खेल खेल्न कुवेत गएको नेपाललाई त्यस अघिको मैत्रिपूर्ण खेलमा प्राप्त अनुभवले हौसला मिलेको छ ।
फिफा वरियतामा निकै माथि रहेको प्रतिद्वन्द्वी इराकसँग नेपालले मैत्रिपूर्ण खेल्यो । नतिजा सुखद् हुन सकेन । तर टोलीले अन्तर्राष्ट्रिय भ्रमणमा भोग्ने गरेको गोलको खडेरीको पारो भने घटेको छ । ६–२ ले नेपाल पराजित भए पनि पहिलो पटक राष्ट्रिय जर्सी पहिरिएका युवा खेलाडी मनिष डाँगीले नेपालका लागि आफ्नो पहिलो गोल गरे । यससँगै डाँगी ‘डेब्यु’ खेलमा गोल गर्ने तेस्रो नेपाली खेलाडी समेत भएका छन् ।
यस अघि ‘हरि खड्का’ र ‘वाइबी घले’ले नेपालका लागि ‘डेब्यु’ खेलमा गोल गरेका थिए । वाइबी घलेले एसियाली खेलकुदमा कुवेतविरुद्ध सन् १९८२ मा र हरि खड्काले १९९५ को सार्क गोल्डकपमा पाकिस्तानविरुद्ध गोल गरेका थिए । डेब्यु खेलमा देशका लागि गोल गरेका मनिष डाँगीले गोल गर्दा खुसी भए पनि नतिजा गुमाउनु पर्दा दुःखी भएको प्रतिक्रिया दिए ।
केही युवा खेलाडी सहित मैदानमा उत्रिएको नेपालले सुरुवातबाट नै घरेलु टोलीको ‘अट्याक’को सामना गर्नु परेको थियो । आधा मैदानमा जस्तो खेल भएको प्रतिस्पर्धामा नेपाली टोलीले रक्षा गर्नमा नै समय व्यतित भएको थियो । तर केही अवसर पाउँदा बल अगाडि बढाउने क्रममा नेपालले गोल अन्तर छोट्याएको थियो । सुरुवातमा नै पछि परेको नेपालले लगत्तै गोल फर्काएर खेल बराबरीमा ल्यायो। त्यसको पाँच मिनेटको अन्तरालमा नेपालले खेलमा अग्रता लिन सफल भएको थियो ।
तर सम्हालिन नसक्दा र निरन्तर गोल खाँदै जांदा नेपाल नतिजा सुम्पिन बाध्य बन्यो । नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाली पावर हाउसको रुपमा गनिने इराकका निरन्तरका प्रयासलाई विफल पार्नमै व्यस्त भए । फुटबलका जानकार तथा सहिद स्मारक ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले इराकजस्तो देशलाई पहिलो हाफको केही मिनेट अगाडिसम्म अग्रता लिएर दबाबमा राख्नु नेपाली टोलीको उपलब्धि भएको बताए ।
शनिबार मैत्रिपूर्ण खेल खेलेको नेपाल आज उतैबाट कुवेत प्रस्थान गर्नेछ। फिफा विश्वकप तथा एसियन कप छनोटका बाकिं खेल खेल्न नेपाली टोली कुवेततर्फ प्रस्थान गर्न लागेको हो । कुवेत बसाईमा नेपालले विश्वकप छनोटका बाँकी खेल अन्तर्गत पहिलो खेल जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ । दोस्रो खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
समूह ‘बी’ अन्तर्गत पाँच खेल खेलेको नेपालको समूह तालिकामा ३ अंक रहेको छ । चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ । १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसैगरी समान १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा छ भने चाइनिज ताइपेइ तालिकाको अन्तिम स्थानमा अंक विहिन छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया