काठमाडौं। ४ पटक ‘ग्रान्ड स्ल्याम’ विजेता नाओमी ओसाकाले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन्।
२३ वर्षीय ज्यापनिज टेनिस ‘सुपरस्टार’ ओसाकाले आफू लामो समय देखि ‘डिप्रेसन’को शिकार बनेको कुरा उल्लेख गर्दै जारी फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी हुन्।
ओसाकाले सोमवार आफ्नो सामाजिक सञ्जालको माध्यमबाट सो जानकारी दिएकी हुन्। आईतवार ओसाकाले पहिलो राउण्डको फ्रेन्च ओपनको खेल जितेकी थिइन्। उनले रोमानियाकी ‘मारिया टिग’लाई पराजित गरेपछि मिडियासँग अन्तर्वार्ता गर्न चाहिनन्। टेनिसमा ‘पोस्ट म्याच इन्टरभ्यु’लाई खेलकै एक अंगका रूपमा लिइने भएकोले नाओमीको यस्तो कदम माथि चिन्ता व्यक्त गरिएको थियो।
म्याच रेफ्रीले ओसाकालाई १५,००० अमेरिकी डलर पनि जरिवाना लगाएका थिए। अझै फेरि यस्तो कार्य दोहोरिएको खण्डमा उनलाई प्रतियोगिताबाटै बर्खास्त गरिने चेतावनी पनि दिइएको थियो।
यद्यपि ओसाका आफ्नो निर्णयमा नै अड्डीरहिन्। आफ्नो ‘ट्विटर’मार्फत उनले आफू ‘डिप्रेसन’को बिरामी भएको कारणले मिडियासँग अन्तर्वार्ता गर्दा आफूलाई ‘एँगजाइटी अट्याक’ आउने कुरा उल्लेख गरिन्।
सोही कारणले उनले जारी फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएको जानकारी गराइन्। ओसाकाको यस्तो ठूलो कदम पछि टेनिस जगतका हस्तीहरु उनको समर्थनमा आए।
‘सेरेना विलियम्स’ले नाओमीको निर्णयलाई कदर गरेको बताइन्। उनले नाओमीलाई आफ्नो समर्थन दिने जानकारी पनि दिइन्। त्यस्तै १८ पटक ‘ग्रान्ड स्ल्याम’ विजेता ‘मार्टिना नाभ्रातिलोभा’ले उनी ओसाकाको यस्तो कुरा सुनेर दुःखी भएको र नाओमीको समर्थनमा रहेको जानकारी दिइन्।
त्यस्तै २ पटकको एन.बी.ए. ‘एम.भी.पी.’ स्टेफन करीले ओसाकालाई समर्थन गर्ने जानकारी दिए।
विश्व वरीयतामा दोस्रो नम्बरमा रहेकी नाओमी ओसाका फ्रेन्च ओपनमा तेस्रो चरण भन्दा माथि कहिल्यै पुगेकी छैनन्। ‘हार्ड कोर्ट’मा ४ ‘ग्रान्ड स्ल्याम’ जितिसकेकी ओसाकालाई ‘क्ले कोर्ट’ले मानसिक तनाव दिने जानकारी पनि ओसाकाले दिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया