एन्सेलोटी पुनः रियल मड्रिडको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं।  स्पेनिश क्लब रियल मड्रिडले कार्लो एन्सेलोटीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

मंगलवार इटालियन प्रशिक्षक एन्सेलोटीलाई आफ्नो मुख्य प्रशिक्षणको जिम्मेवारी दिएको रियल मड्रिडले जनाएको छ। विगत १८ महिना देखि इंग्लिश क्लब एभर्टनको मुख्य प्रशिक्षकको भूमिकामा रहेका एन्सेलोटीले रियलसँग ३ वर्षे सम्झौता गरेका छन्।

रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले यसै साता क्लब छाडेपछि क्लब प्रशिक्षकको खोजीमा रहेको थियो। क्लबले नयाँ प्रशिक्षकलाई भित्र्याउनु भन्दा पूर्व प्रशिक्षक एन्सेलोटीलाई फिर्ता लिएर आउनु नै उचित ठानेको देख्न सकिन्छ।

एन्सेलोटीले सन् २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक बनेर काम गरिसकेका छन्। उनले त्यो दौरान रियललाई ‘ला डेसिमा’ अर्थात् १०औं च्याम्पियन्स लिग उपाधि पनि जिताएका थिए।

६१ वर्षीय एन्सेलोटी विश्व फुटबलमा उत्कृष्ट मध्येका एक प्रशिक्षकमा पर्दछन्। ३ पटक च्याम्पियन्स लिग विजेता एन्सेलोटीले अहिलेसम्म एसी मिलान, युभेन्टस, चेल्सी, रियल मड्रिड, पीएसजी, बायर्न म्युनिक, नापोली र एभर्टनमा मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?