काठमाडौं। फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गत भोलि (बिहीवार) नेपालले चाइनिज ताइपेइविरुद्ध प्रतिस्पर्धा गर्दैछ। कोरोना महामारीका कारण नेपालको घरेलु मैदानमा हुनु पर्ने खेल ‘निउट्र्ल’ राष्ट्र कुवेतमा हुन लागेको छ।
सो खेल पूर्वको प्रेस सम्मेलन बुधवार ‘भर्चुवल’ माध्यमबाट गरियो। उक्त प्रेस सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक ‘अब्दुल्लाह अल्मुताइरी’ले ताइपेइविरुद्धको खेल नेपाललाई कठिन हुने मन्तव्य राखे।
उनले आफ्नो मातृभूमि कुवेतको मौसममा फुटबल खेल्न असहज रहेको बताए। “कुवेतमा खेल्न असजिलो छ, मौसमका कारण खेल दुवै टोलीका लागि कठिन हुनेछ”, उनको भनाइ थियो।
उनले इराकसंगको खेलमा हार बेहोरे पनि नेपालले त्यस खेलबाट निकै सकारात्मक कुरा सिकेको बताए। “हामी यस समूहमा कम्तीमा पनि ४औं स्थान हासिल गर्न चाहन्छौं जसले हामीलाई एसिया कप छनोटमा केही सजिलो हुनेछ। त्यसकारण हामी भोलि जितका लागि मैदानमा उत्रने छौं”, प्रशिक्षक अल्मुताइरीले थपे।
उनले अधिकांश युवा खेलाडीले भरिएको राष्ट्रिय टोलीमाथि धैर्यता र विश्वास राख्न सबै नेपाली फुटबल समर्थकलाई आग्रह पनि गरेका छन्। “हामीले यस प्रतियोगिताको लागि तयारी गर्न पर्याप्त मैत्रीपूर्ण खेल खेल्ने मौका पाएनौं। अझै हाम्रो टोलीमा धेरै युवा खेलाडी छन्, तर सबै प्रतिभाशाली छन्। यद्यपि आशा राखौँ, भर नपरौं” अब्दुल्लाहले भने।
त्यस्तै चाइनिज ताइपेइका मुख्य प्रशिक्षक ‘भोम का-न्हुमले’ पनि कुवेतको मौसम नै आफ्नो टोलीको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्।
उनले नेपालको टोली ‘अट्याक’ र ‘डिफेन्स’ दुवै क्षेत्रमा सुन्तलित रहे पनि आफ्नो टोलीले नेपालविरुद्ध राम्रो खेल खेल्ने आशा व्यक्त गरे। “हाम्रा केही महत्वपूर्ण खेलाडीहरू कोरोनाका कारण टोलीमा समावेश छैनन्, आशा छ युवा तथा केही नयाँ अनुहारहरूले यस मौकाको सदुपयोग गर्ने छन्”, भोमको भनाई थियो।
नेपालले भोलि ‘बिहीवार’ चाइनिज ताइपेइसँग कुवेतको ‘जबर अल-हमद अन्तराष्ट्रिय रंगशाला’मा प्रतिस्पर्धा गर्नेछ। भोलिको खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया