अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुको नतिजा

काठमाडौं।  फुटबलमा विश्वकप पछिको सर्वाधिक लोकप्रिय मानिने प्रतियोगिता हो ‘युरो कप’। ‘मिनी वर्ल्ड कप’ भनेर चिनिने यो प्रतियोगिता यसै ‘जुन ११’ बाट युरोपको ११ ओटा विभिन्न सहरमा शुरु हुँदैछ।

युरो कपमा प्रतिस्पर्धा गर्ने सबै २४ टोलीले आफ्नो अन्तिम टोली घोषणा गरिसकेका छन्। आज भन्दा ठिक एक वर्ष अगाडि शुरु हुनु पर्ने यस प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष धकेलिएको थियो। यद्यपि यस प्रतियोगिताको लोकप्रियता र समर्थनमा भने कुनै पनि कमी आएन र सबै फुटबल प्रेमी यस प्रतियोगिताको पर्खाइमा रहेका छन्।

सो प्रतियोगिताका लागि अभ्यास खेलहरु शुरु भइसकेका छन्। यसैबिच बुधवार राति पनि केही मैत्रीपूर्ण खेलहरु खेलिए। जसको नतिजा केही यस प्रकार रह्यो।

नेदरल्याण्ड्सविरुद्ध स्कटल्यान्ड (२-२)

गए राति खेलिएको यस खेलमा स्कटल्याण्डले उत्कृष्ट प्रदर्शन गर्यो। नेदरल्याण्ड्स जस्तो बलियो टोलीमाथि स्कटल्याण्डले खेलमा दुई चोटी अग्रता लियो। खेलको ११औं मिनेटमा ज्याक हेन्ड्रीको गोलमार्फत स्कटल्याण्डले खेलमा अग्रता लियो। तर १७औं मिनेटमा नेदरल्याण्ड्सका स्ट्राइकर मेमफिस डिपाएले गोल गर्दै खेल बराबरीमा पुर्याए।

दोस्रो हाफको ६४औं मिनेटमा केभिन निबेटले गोल गर्दै स्कटल्याण्डलाई पुनः अग्रता दिलाए। तर खेलको ८९औं मिनेटमा डिपाए नेदरल्याण्ड्सको बचाउमा फेरि नायक बने र गोल गरे।

 

इङ्ल्यान्डविरुद्ध अस्ट्रिया (१-०)

यस वर्षको दावेदार मध्येको एक टोली हो इङ्ल्यान्ड। ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्लिश टोलीले गए राति अस्ट्रियाविरुद्धको मैत्रीपूर्ण खेलमा जित निकालेको छ।

मिडलस्बोरोको घरेलु मैदानमा खेलिएको खेलमा आर्सनलका बुकायो साकाले गोल गरे। उनले दोस्रो हाफको ५७औं मिनेटमा गोल गर्दा खेल इङ्ल्यान्डको पक्षमा गएको हो।

 

जर्मनीविरुद्ध डेनमार्क (१-१)

गए राति अस्ट्रियामा खेलिएको जर्मनी र डेनमार्क बिचको खेल १-१ को बराबरीमा सकिएको छ।

दोस्रो हाफको ४८औं मिनेटमा नेउहासको गोल मार्फत जर्मनीले खेलमा अग्रता लिएको थियो। तर बलियो टोली डेनमार्कले ७१ औं मिनेटमा लाइपजिगका स्ट्राइकर युसुफ पोल्सेनको गोलमार्फत खेल बराबरी गर्यो।

 

फ्रान्सविरुद्ध वेल्स (३-०)

फिफा विश्वकप फुटबलको वर्तमान विजेता टोली फ्रान्स आगामी युरो कपको पनि दावेदार टोली हो। गए राति वेल्सविरुद्धको प्रदर्शनले यो प्रष्ट बताएको छ।

५ वर्ष पछि राष्ट्रिय टोलीमा फर्केका रियल मड्रिडका स्ट्राइकर करिम बेन्जीमाले खेलको २७औं मिनेटमा पेनाल्टी मिस गरे। तर फ्रान्सका नियमित गोलकर्ताहरुफेरि पनि खेलमा गोल गर्न चुकेनन्। ३५औं मिनेटमा मिलियन एम्बाप्पे, ४८औं मिनेटमा एन्टोइन् गृजम्यान र ७९औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गर्दा वेल्स स्तब्ध भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?