काठमाडौं। जारी फ्रेन्च ओपन प्रतियोगितामा पुरुषतर्फ रोजर फेडेरर, रफाएल नाडाल र नोभाक जोकोभिच तेस्रो चरणमा प्रवेश गरेका छन्।
बिहीवार राति खेलिएका खेलमा टेनिस जगतका तीन जना ‘सुपरस्टार’ खेलाडीले आ-आफ्नो खेलमा जित हासिल गरेका छन्। विश्व नम्बर १ सर्बियन खेलाडी नोभाक जोकोभिचले उरुग्वेका पाब्लो क्युभासलाई ६-३, ६-२ र ६-४ को सोझो सेटमा पराजित गरेका हुन्।
त्यस्तै विश्वकै उत्कृष्ट मध्येका एक रोजर फेडेररले पनि दोस्रो चरणको खेलमा जित निकाल्दै आफ्नो करियरको ७६४औं जित प्राप्त गरेका छन्। उनले मारिन स्लिचलाई ६-२, २-६, ७-६ (७/४), र ६-२ को सेटमा पराजित गर्दा तेस्रो चरणको यात्रा सुनिश्चित गरेका हुन्।
बिहीवार राति नै भएको अर्को खेलमा सर्वाधिक फ्रेन्च ओपन विजेता रफाएल नाडालले फ्रान्सका रिचर्ड गास्कवेटलाई पराजित गरेका हुन्। नाडालले गास्कवेटमाथि ६-०, ७-५ र ६-२ को जित निकाले। नाडालले पहिलो सेटमा ‘बेगल’ पनि प्राप्त गरेका थिए।
टेनिसमा रोजर फेडेरर र रफाएल नाडालले सर्वाधिक ‘ग्रान्ड स्ल्याम’ उपाधि जितेका छन्। यी दुईले समान २० ‘ग्रान्ड स्ल्याम’ उपाधि जित्दा जोकोभिचले १८ ‘ग्रान्ड स्ल्याम’ उपाधि जितेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया